काठमाडौ । विघटनको संघारमा रहेको एमालेमा देखिएका सकारात्मक संकेतले कार्यकर्तामा खुसी छाएको छ । मंगलवार एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधान गर्ने कामको सुरुवात गरेको छ ।
कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि विघटन हुनै लागेको एमालेमा नयाँ किरण देखिएको हो । संसद् विघटनसम्बन्धी मु द्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै वेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु भए पछि भने विपक्षी दलमा छटपटि सुरु भएको छ ।
आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोशिस गरेका थिए । तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि अलमलमा परेका नेताहरु ओलीको सकारात्मक संकेतले खुसी भएका छन् ।
त्यसैअनुसार ओली र नेपालपक्षीय नेता भीम रावलबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो । सोही वार्तामा ओली कार्यदल ब्युँताउन तयारका थिए । कार्यदल ब्युँताएर र सहमतिको
मस्यौदा बनाउन जिम्मा दिन ओली तयार भएलगत्तै सोमबार कार्यदलको बैठक बसेको थियो । बैठकमा सहमतिको मस्यौदा कोर्ने र तुरुन्तै ओली–नेपाल भेटवार्ता गराउने गृहकार्य सुरु भएको सदस्यहरूले बताएका छन् ।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसार सहमतिको मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल ब्युँताएर सोमबारबाट सक्रिय बनाइएको छ । कार्यदलको बैठक बुधवार पनि बस्ने भएको छ । मंगलवारको बैठकपछि माधव पक्षका नेताहरुले अब पार्टी एक बनाउने बाटो खुलेको र आफुहरु अन्तिम अवस्थासम्म लाग्ने बताएका थिए ।
अहिलेसम्म पार्टीलाई २ जेठ ०७५ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने, सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको नेताहरुको दावी छ ।
रिटमा नेपाल पक्षबाट भएको हस्ताक्षरको विषय टुंग्याउने सन्दर्भमा सर्वोच्चले जे फैसला गर्छ, त्यसलाई दुवै पक्षले मान्ने र त्यसपछि पार्टीको संस्थागत निर्णयलाई आधार मानेर अगाडि बढ्नेलगायतका विकल्पमा उनीहरूबीच छलफल हुँदै आएको छ ।
