काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति पु¥याउँदा देशमा फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने त्रास नागरिकमा छ । बाढीको ताण्डवले १३ वटा जलविद्युत् आयोजनामा ठुलो क्षति पु¥यायो, जसको प्रत्यक्ष असरस्वरूप ४३१.१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुग्यो । बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजनाको २८१.१ मेगावाट, सोलार आयोजनाको २५ मेगावाट र सबस्टेसन लगायतका प्रसारण प्रणालीमा क्षति पुगेका आयोजनाको १५० मेगावाट बिजुली प्रणाली बाहिर जाँदा ऊर्जा प्रणाली पनि धरमराउने अवस्था सिर्जना भएको थियो । तर, नागरिकलाई लोडसेडिङमा नराख्नेगरी सरकारले आन्तरिक तयारी तिव्र पारेको छ । सरकारले लोडसेडिङ हुन नदिन सम्पूर्ण संयन्त्र परिचालन गर्दै अग्रिम तयारीलाई चुस्त र प्रभावकारी बनाएको छ ।
भोटेकोशीको विपत्तिले ठुलो क्षति पु¥याएको यो सङ्कटपूर्ण समयमा पनि नागरिकलाई अँध्यारोमा बस्न नपरोस् भन्ने योजनासहित सरकार मैदानमा उत्रिएको छ । उर्जामन्त्री विराजभक्त श्रेष्ठ आफैँ विद्युत् आपूर्तिलाई नियमित गराउन र भत्किएका संरचनाहरूको द्रुत मर्मत सम्भारका लागि निरन्तर खटिरहेका छन् । उनको नेतृत्वमा मन्त्रालयले देखाएको तदारुकता, चुस्त व्यवस्थापन र निर्णय क्षमताले ऊर्जा क्षेत्रमा एउटा नयाँ र सकारात्मक आशाको सञ्चार गराएको छ । विपत्तिलाई दोष दिएर पन्छिने परम्परागत प्रवृत्तिको अन्त्य गर्दै, मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण र सम्बद्ध निकायहरूलाई समस्या आउनुअगावै समाधानका विकल्पहरू तयार राख्न निर्देशन दिएका छन् ।
नेपालको जलविद्युत् प्रणाली मुख्यतया नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको रहेको छ । यसको अर्थ, वर्षायाममा नदीहरूमा पानीको बहाव उच्च हुँदा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ भने हिउँदमा पानीको बहाव घट्दा आन्तरिक उत्पादन क्षमता करिब २५ प्रतिशतमा खुम्चिन पुग्छ । हाल देशको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार १२० मेगावाट पुगेको भए पनि बाढीले पारेको प्रभावका कारण अहिले करिब ३ हजार ५ सय मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । देशको अधिकतम विद्युत् माग करिब २५ सय मेगावाट छ । अहिले बर्खाको समय भएकाले नदीहरूमा पानीको बहाव उच्च रहेको र अन्य क्षेत्रका आयोजनाहरू पूर्ण क्षमतामा चलिरहेकाले आन्तरिक माग धान्न कुनै समस्या छैन । तर, हिउँदमा उत्पादन घट्दा आउन सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गर्दै सरकारले समय अगावै भारतसँग विद्युत् आयातको सम्झौता नवीकरण गरिसकेको छ ।
हिउँदको विद्युत् माग धान्न र अन्तिम समयमा कुनै झमेला नहोस् भनेर प्राधिकरणले अहिले नै भारतसँग विद्युत् आयातको पूर्वस्वीकृति लिइसकेको छ । भारतको ऊर्जा मन्त्रालयले पनि नेपाललाई आगामी पुस १६ गतेसम्मका लागि दैनिक १८ घण्टा बिजुली आयात गर्न अनुमति दिइसकेको छ । भारतसाग सम्झौता भएसँगै नेपालले राति १२ बजेदेखि साँझ ६ बजेसम्म ६५४ मेगावाट विद्युत् भारतबाट निर्वाध रुपमा आयात गर्ने बाटो खुल्ला भएको छ ।
जसमा ४०० केभीको ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट ६०० मेगावाट र १३२ केभीको टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली नेपाल ल्याइनेछ । यति मात्र होइन, सुक्खा यामको विद्युत् व्यवस्थापनलाई अझै सहज, सुरक्षित र भरपर्दो बनाउन सरकारले थप १५० मेगावाट विद्युत् द्विपक्षीय राउन्ड द क्लक मोडमा आयात गर्नका लागि भारतमा प्रस्ताव समेत पठाइएको जनाइएको छ । यो प्रस्ताव स्वीकृत भएपछि हिउँदमा उद्योग कलकारखानादेखि घरायसी प्रयोजनसम्म कतै पनि बिजुलीको अभाव झेल्नुपर्ने छैन ।
बाढीले ठुलो क्षति पु¥याउँदा पनि नेपालको ऊर्जा प्रणाली कति बलियो र व्यवस्थित छ भन्ने कुरा वर्तमान समयमा भइरहेको विद्युत् निर्यातले देखाएको छ । क्षतिपछि पनि नेपालले आफ्नो आन्तरिक लोड पूर्ण रूपमा व्यवस्थापन गरेर उल्टै भारततर्फ निरन्तर विद्युत् निर्यात गरिरहेको छ । आगामी पुस १६ गतेसम्म नेपालले निरन्तर बिजुली निर्यात गर्नेछ । अहिले इन्डियन इनर्जी एक्सचेन्जको बिडिङ र प्रसारण लाइनको अवस्था हेरेर दैनिक ५०० देखि ८०० मेगावाटसम्म बिजुली भारततर्फ गइरहेको छ । यो बालेन सरकारको उर्जा नीतिको एक ऐतिहासिक सफलता पनि हो । सङ्कटको समयमा पनि आन्तरिक माग धानेर विदेशमा बिजुली बेच्न सक्ने अवस्थामा देश पुग्नुले नेपालमा जलविद्युतका क्षेत्रमा ठुलो लगानी भइरहेको र त्यसले परिणाम पनि दिईसकेको संकेत गर्दछ ।
सरकारको कामको चारैतिर तारिफ र स्वागत भइरहँदा गत आर्थिक वर्षमा सुक्खा याममा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढीको बिजुली आयात गर्नुपरेको यथार्थलाई सरकारले भुल्ने छुट छैन् । यस वर्ष पनि आयातलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले अग्रसरता लिनुपर्ने टट्कारो अवस्था छ ।
कुनै समय नेपालमा यस्तो पनि थियो, जब देशको कुल विद्युत् उत्पादन क्षमता जम्मा ८०० मेगावाट थियो र हिउँदमा त्यो खुम्चिएर ३०० मेगावाटमा झथ्र्यो । त्यतिबेला नेपाली जनताले दैनिक १८ घण्टासम्मको लोडसेडिङको मार खेप्नुपरेको थियो । विद्यार्थीहरू टुकी र मैनबत्तीको भरमा पढ्न बाध्य थिए । उद्योगहरू डिजेल जेनेरेटरको महँगो लागतले थला परेका थिए । तर अहिले त्यो नियती फेरिएको छ । अहिले हामीसँग ४५ सय मेगावाटभन्दा बढीको जडित क्षमता पुगिसकेको छ । निजी क्षेत्रको उत्साहजनक सहभागिताका कारण धेरै बिजुली उत्पादन भइसकेको छ । सरकारले पनि विद्युत् उत्पाद्मा अग्रसरता देखाइरहेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै राष्ट्रिय विद्युत् प्रणालीमा थप ५२९ मेगावाट बिजुली जोडिएको छ, जसमा १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना जस्ता महत्वपूर्ण आयोजनाहरू समावेश छन् । यसका साथै ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर उत्पादन परीक्षण भइरहेको छ, जसले निकट भविष्यमै राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पु¥याउनेछ ।
विद्युत् उत्पादन सँगसँगै सरकारले प्रसारण लाइनको पूर्वाधार विकासमा पनि उत्तिकै क्रान्तिकारी फड्को मारेको छ । हालै कोहलपुर–सुर्खेत प्रसारण लाइन, खिम्ती–बाह्रबिसे ४०० केभी उच्च क्षमताको प्रसारण लाइन र मार्किचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएका छन् । यी पूर्वाधारहरूको निर्माण र सञ्चालनले उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्यमात्रै गरेका छैनन्, देशको जुनसुकै कुनामा पनि भोल्टेज ड्रप नभई गुणस्तरीय बिजुली उपभोग गर्न पाउने सुनिश्चितता गरेको छ । बाढीले ४३१ मेगावाट बिजुली कम गरे पनि विगतको तुलनामा थपिएका नयाँ उत्पादन र प्रसारण पूर्वाधारका कारण यसपालिको हिउँदमा कुनै पनि प्रकारको समस्या नआउने व्यवस्था सरकारले मिलाई रहेको छ ।
भोटेकोशी बाढीले सिर्जना गरेको प्राकृतिक विपत्तिलाई सरकारले एउटा चुनौतीका रूपमा मात्र नभई प्रणाली सुधार र पूर्वतयारीको अवसरका रूपमा ग्रहण गर्न आवश्यक छ । हिउँदमा लोडसेडिङ हुन्छ कि भन्ने आशङ्का अहिले भ्रम जस्तो मात्रै लाग्ने अवस्था बनेको छ । तर सरकारी संयन्त्रमा समन्वय र कामको तादम्यता नमिलेको खण्डमा फेरी नेपाली नागरिक लोडसेडिङमा बस्ने दिन नआउला भन्न सकिदैँन ।
तर आन्तरिक उत्पादनको अधिकतम उपयोग, अपुग समयका लागि भारतसँग समयमै गरिएको आयात सम्झौता, र बढी भएको समयमा निरन्तर भइरहेको निर्यातले नेपालको ऊर्जा क्षेत्रलाई सन्तुलित बिन्दुमा उभ्याएको छ । तर हिउँदको समयमा सधैं आयात गर्नुुपर्ने नियतीबाट बाहिर निस्कने र आफ्नै देशको विद्युत् प्रयोग गर्ने वातावरण सरकारले बनाउन सक्नुपर्छ ।
