पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्व प्रहरी, उनीहरूका परिवार र द्वन्द्वपीडितलाई उपचारमा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग वा मृत्यु भएका पूर्व प्रहरीका परिवारले दुवाकोटस्थित केएमसी अस्पतालमा अन्तरंग सेवामा शतप्रतिशत छुट पाउनेछन्। यो सुविधा परिषद्को सिफारिसमा एक सय जनासम्मका परिवारलाई उपलब्ध हुनेछ। अन्य पूर्व प्रहरी तथा आश्रित परिवारले दुवाकोटमा ५० प्रतिशत, सिनामंगलमा २५ प्रतिशत र विराटनगरस्थित नोबेलमा २० प्रतिशत छुट पाउनेछन्।
यसबाहेक पाँच जनासम्म द्वन्द्वपीडितलाई सिनामंगलस्थित केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिइनेछ। आकस्मिक उपचारका लागि २४ घण्टासम्म क्रेडिट सुविधा पनि उपलब्ध हुनेछ, तर परिषद्को सिफारिसपत्र अनिवार्य पेस गर्नुपर्नेछ।
आईभीएफ, कलेजो प्रत्यारोपण, क्याबिन, प्लास्टिक सर्जरी, इम्प्लान्ट तथा औषधिलगायतमा भने छुट लागू हुने छैन। सरकारी स्वास्थ्य सुविधा उपयोग गरेपछि मात्र यो सहुलियत पाइनेछ।
सम्झौता २०८३ साउन २९ देखि २०८४ असार मसान्तसम्म लागू हुनेछ। यसमा परिषद्का अध्यक्ष रमेश कुमार श्रेष्ठ र केएमसीका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता सुनील शर्मा प्रमुख अतिथि थिए।
