काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं बिहानको ठीक ९ बजे घरबाट निस्कनुहुन्छ । तपाईंलाई कुनै हतार छैन, किनभने तपाईंको स्मार्टफोनमा बस आउने समय सेकेन्ड–सेकेन्डको हिसाबमा अपडेट भइरहेको छ । सडकमा निस्कँदा न कान खाने हर्नको आवाज छ, न त श्वास नै फेर्न गाह्रो हुने कालो धुवाँ । तपाईं फराकिलो फुटपाथ हुँदै स्मार्ट बस स्टपमा पुग्नुहुन्छ । जिपिएस जडित अत्याधुनिक बस तोकिएको समयमै आइपुग्छ, तपाईंले कुनै नगद नदिई कार्ड स्वाइप गरेर यात्रा सुरु गर्नुहुन्छ ।
बस गुडिरहँदा चोकका ट्राफिक लाइटहरूले आफैं गाडीको चाप अनुमान गरेर हरियो बत्ती बालिदिन्छन् । महाराजगञ्जको सधैंको उकुसमुकुस जामलाई तपाईंको बसले अन्डरपासबाटै पार गर्छ भने गौशाला पुग्दा पशुपतिनाथ मन्दिरलाई कुनै असर नपर्ने गरी बनाइएको दुई तले भूमिगत सुरुङबाट तपाईंको यात्रा अगाडि बढ्छ । यदि तपाईंलाई भक्तपुर जानु छ भने, रत्नपार्कबाट सिधै मेट्रो रेलमा चढेर जमिनमुनिको बाटो हुँदै केही मिनेटमै सूर्यविनायक पुग्न सक्नुहुन्छ ।
सुन्दा यो कुनै युरोपेली वा जापानी सहरको कथा जस्तो लाग्न सक्छ, तर यो कुनै विज्ञानको कथा होइन । यो अबको साढे दुई दशकभित्र, अर्थात् सन् २०५० सम्ममा काठमाडौं उपत्यकाले देख्ने सपनाको खाका हो । वर्षौंदेखि ट्राफिक जाम, धुवाँधुलो र अस्तव्यस्त सार्वजनिक यातायातको नियति भोगिरहेका उपत्यकावासीका लागि सरकारले ’काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ कार्यान्वयनको प्रारम्भिक चरण सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा यस गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्यांकन (एसईए) प्रतिवेदन तयार पारिसकेको छ । यसले काठमाडौं, ललितपुर र भक्तपुरको यातायात प्रणालीलाई नयाँ र आधुनिक युगमा प्रवेश गराउने लक्ष्य राखेको छ ।
आजको काठमाडौंको यथार्थ निकै भयावह छ । देशको मुख्य आर्थिक र प्रशासनिक केन्द्र रहेको यस उपत्यकामा सडक विस्तारको एउटा सीमा छ । ऐतिहासिक सहर, बाक्लो बस्ती र सीमित भूगोलका कारण यहाँ चाहेर पनि सडकलाई असीमित रूपमा फराकिलो बनाउन सकिँदैन । अर्कातर्फ, प्रत्येक वर्ष थपिने हजारौं नयाँ सवारीसाधनले सडकको श्वास नली नै बन्द गरिदिएका छन् ।
जाडो मौसम सुरु हुनेबित्तिकै र मनसुनअघि काठमाडौंको वायु प्रदूषण खतराको सूचीभन्दा निकै माथि पुग्छ, जसको मुख्य कारक यिनै सवारीसाधनबाट निस्कने विषाक्त धुवाँ हो । यसका साथै, कानै फुट्ने ध्वनि प्रदूषण, असुरक्षित सडक र क्षमताभन्दा बढी यात्रु कोचेर हिँड्ने थोत्रा सार्वजनिक यातायातले उपत्यकाको जीवनस्तरलाई निकै कष्टकर बनाइदिएको छ । पछिल्लो जनगणना अनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख ३६ हजार छ, जुन सन् २०५० सम्ममा बढेर ४२ लाख नाघ्ने छ । यदि अहिलेकै अवस्था कायम रहने हो भने अबको केही वर्षमै काठमाडौंमा गाडी गुडाउन होइन, पैदल हिँड्न समेत ठाउँ हुने छैन । यही कठोर भविष्यलाई मध्यनजर गर्दै सरकारले झण्डै २ खर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यो वृहत् गुरुयोजना अघि सारेको हो ।
विगतलाई फर्केर हेर्ने हो भने सरकारले यसअघि पनि सन् १९९३, २०१२ र २०१७ मा यस्तै प्रकारका यातायात गुरुयोजनाहरू बनाएको थियो । तर, ती सबै योजनाहरू मन्त्रालयका दराजमा धुलो खाएर बसे, कार्यान्वयनको उज्यालो घाम देख्न पाएनन् । यसपालि भने चौथो प्रयासका रूपमा आएको यो गुरुयोजनाले सडक विस्तारलाई मात्र जोड दिएको छैन, बरु रणनीतिक सडक सुधार र संस्थागत सुधार दुवैलाई समानान्तर रूपमा अगाडि बढाउने नीति लिएको छ ।
यसको मुख्य दर्शन नै ’निजी सवारीसाधनको मोहलाई उच्च क्षमताका सार्वजनिक यातायातबाट प्रतिस्थापन गर्ने’ रहेको छ । सहरको केन्द्रमा ठूला सडक बनाउन सम्भव नभएको तीतो यथार्थलाई स्वीकार्दै, अबको विकल्प भनेको भरपर्दो, सुरक्षित र द्रुत गतिको सार्वजनिक यातायात नै हो भन्ने निष्कर्षमा प्रतिवेदन पुगेको छ । यो गुरुयोजना तीन चरणमा कार्यान्वयन हुनेछ— पहिलो चरण सन् २०३२ सम्म, दोस्रो सन् २०४० सम्म र अन्तिम तथा पूर्ण रूपरेखा सन् २०५० सम्ममा साकार हुनेछ ।
यो योजनाको सबैभन्दा बलियो पक्ष भनेको सार्वजनिक यातायातको पूर्ण कायापलट हो । अब काठमाडौंको सडकमा अहिले जस्तो अस्तव्यस्त र अस्वस्थ प्रतिस्पर्धा गर्ने बस र माइक्रोबसहरू देखिने छैनन् । गुरुयोजनाले ठूला र मानक बसहरूलाई यातायातको मुख्य मेरुदण्ड मानेको छ । सञ्चालन दक्षता बढाउन साना बस व्यवसायीहरूलाई एकीकृत गरी ठूला कम्पनी वा सहकारीको मोडलमा रूपान्तरण गरिनेछ ।
रुटहरूलाई वैज्ञानिक ढंगले पुनर्संरचना गरिनेछ ताकि सहरको केन्द्रमा हुने अनावश्यक भिडभाड कम होस् र कुना–कुनासम्म सञ्जाल विस्तार होस् । सडकमा उच्च माग भएका करिडोरहरूमा बसलाई पहिलो प्राथमिकता दिँदै ’डेडिकेटेड बस लेन’, ’बस ¥यापिड ट्रान्जिट’ र ’सार्वजनिक यातायात प्राथमिकता प्रणाली’ लागु गरिनेछ । यसको अर्थ, ट्राफिक जाममा कारहरू रोकिए पनि सार्वजनिक बसहरू भने आफ्नै खाली लेनमा द्रुत गतिमा कुदिरहेका हुनेछन् ।
यात्रुहरूलाई बस कहाँ आइपुग्यो भनेर जानकारी दिन ’रियल टाइम यात्रु सूचना प्रणाली’ जडान हुनेछ । बसपार्क, टर्मिनल र बिसौनीहरूलाई आधुनिक र यात्रुमैत्री बनाइनेछ भने चालकहरूको तालिम र सवारीसाधनको मर्मत मापदण्डलाई कडा पारिनेछ । तर, ४२ लाख जनसंख्या पुग्ने सहरमा सडकमा गुड्ने बसले मात्रै यातायातको चाप धान्न सम्भव छैन । यही यथार्थलाई बुझेर गुरुयोजनाले काठमाडौंमा ’मास ¥यापिड ट्रान्जिट’ वा मेट्रो रेलको विकासलाई अनिवार्य सर्त मानेको छ । उपत्यकामा उच्च क्षमताको सार्वजनिक यातायातका लागि मुख्य तीन वटा रुट पहिचान गरिएका छन्— चक्रपथ रुट, उत्तर–दक्षिण रुट र पूर्व–पश्चिम रुट ।
यसमध्ये पूर्व–पश्चिम अर्थात् रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्मको करिब १४.६ किलोमिटर लामो खण्डमा मेट्रो रेल सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर पूर्वसम्भाव्यता अध्ययन अघि बढाइएको छ । रोचक कुरा त के छ भने, सहरी भिडभाड भएको भित्री इलाका र सधैं जामले सताउने जडीबुटी–कोटेश्वर खण्डमा यो रेल जमिनमुनि कुद्नेछ । यस मेट्रोलाई विभिन्न स्थानमा बीआरटी प्रणालीसँग जोडेर यात्रुहरूलाई सहजै बसबाट रेल र रेलबाट बसमा सर्न सक्ने एकीकृत सञ्जाल बनाइनेछ ।
सडक तथा पूर्वाधारको भौतिक संरचनामा पनि यो गुरुयोजनाले क्रान्तिकारी परिवर्तन ल्याउनेछ । अहिले चक्रपथ विस्तारमा सबैभन्दा ठूलो टाउको दुखाइ बनेको चाबहिल–गौशाला खण्डको जामलाई सदाका लागि अन्त्य गर्न विशेष इन्जिनियरिङको प्रयोग गरिनेछ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा जमिनमाथि सडक विस्तार गर्न सम्भव छैन ।
त्यसैले, यहाँ दुई तले भूमिगत सुरुङ निर्माण गरेर चार लेनको सडक विकास गर्ने अनौठो र साहसिक प्रस्ताव गरिएको छ । त्यसैगरी, महाराजगञ्ज चोकको जाम हटाउन त्यहाँ विशाल अन्डरपास निर्माण गरिनेछ । अहिले नै निकै व्यस्त रहेको चाबहिल–बागमती नदी खण्डमा भने दुई लेनको आकाशे सडक निर्माण गरिनेछ । यो खण्डमा बौद्ध स्तुपा जस्ता विश्व सम्पदा पर्ने भएकाले अत्याधुनिक डिजाइन र ट्राफिक सिग्नलको प्रयोग गरिनेछ । उत्तर–पश्चिम काठमाडौंको सवारी चापलाई सहज बनाउन विष्णुमती नदी करिडोरमा समेत चार लेनको आकाशे सडक निर्माण गरी त्यसलाई सिधै चक्रपथमा जोड्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ ।
यसका अलावा, काठमाडौंका नदी करिडोरहरूले ट्राफिक व्यवस्थापनमा ठूलो राहत दिनेछन् । थापाथली–त्रिपुरेश्वर नदी करिडोरलाई पूर्ण रूपमा विकास गरी विद्यमान बागमती करिडोरसँग जोड्ने योजना छ । अहिले सधैं जाम हुने यूएनपार्क पुलको क्षेत्रलाई स्तरोन्नति गर्दै नयाँ र फराकिलो पुल निर्माण गरिनेछ । विष्णुमती, धोबीखोला, कर्मनासा र बागमती नदीका विभिन्न बोटलनेक हरूमा नयाँ पुलहरू थपिनेछन् । चक्रपथको त्रिभुवन विमानस्थल प्रवेशद्वार नजिकको गौशाला–तीनकुने खण्डलाई पनि पूर्ण रूपमा विस्तार गरिनेछ, जसले गर्दा कोटेश्वरको जाममा थप कमी आउनेछ ।
सडक भनेको गाडी गुड्नका लागि मात्र होइन भन्ने आधुनिक सहरी विकासको मान्यतालाई यस गुरुयोजनाले आत्मसात् गरेको छ । काठमाडौं र ललितपुरका ऐतिहासिक स्थलहरू, जस्तै ठमेल र दरबार स्क्वायर क्षेत्रलाई ’नो भेइकल जोन’ (कार फ्री जोन) का रूपमा स्थापित गरिनेछ, जहाँ मानिसहरू शान्तिपूर्वक हिँड्डुल गर्न र पर्यटकहरूले सम्पदाको असली मज्जा लिन पाउनेछन् ।
सडक निर्माणमा अहिले भइरहेको सबैभन्दा ठूलो रोग अर्थात् एक निकायले सडक कालोपत्रे गर्ने र लगत्तै अर्को निकायले ढल वा तारका लागि भत्काउने प्रवृत्तिको अन्त्य गर्न ’युटिलिटी करिडोर’ को परिकल्पना गरिएको छ । यसअन्तर्गत सडकमुनि एउटा यस्तो स्थायी सुरुङ वा चेम्बर बनाइनेछ, जसभित्रबाट खानेपानीका पाइप, ढल, टेलिफोन र इन्टरनेटका तारहरू तथा बिजुलीका लाइनहरू लगिनेछ । भविष्यमा कुनै तार वा पाइप मर्मत गर्नुपरे सडक नभत्काई त्यही करिडोरभित्र पसेर काम गर्न सकिनेछ ।
वातावरण र स्वास्थ्यलाई केन्द्रमा राख्दै गुरुयोजनाले उपत्यकाभरि सुरक्षित साइकल लेनहरूको सञ्जाल बिछ्याउने योजना पनि समेटेको छ । सडक सुरक्षा सुधारका लागि चोकहरूको ज्यामितीय सुधार, समन्वायित (सिंक्रोनाइज्ड) ट्राफिक संकेत प्रणाली स्थापना र व्यस्त सडक क्षेत्रमा अत्याधुनिक पार्किङ स्थलहरूको निर्माण गरिनेछ । समग्रमा भन्नुपर्दा, यो गुरुयोजनाले सुरक्षित, समावेशी, जलवायु अनुकूलित र मजबुत यातायात प्रणालीमार्फत काठमाडौंलाई एउटा जीवन्त र बस्नलायक अन्तर्राष्ट्रिय स्तरको सहरमा रूपान्तरण गर्ने संकल्प गरेको छ ।
यसले एकातिर यात्राको समय र लागत घटाएर आर्थिक वृद्धिमा विशाल योगदान दिनेछ भने अर्कोतर्फ रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता सार्वजनिक सेवामा नागरिकको पहुँचलाई अतुलनीय रूपमा सहज बनाउनेछ । विगतका तीन वटा गुरुयोजनाहरू कागजमै सीमित भएको तितो इतिहास हाम्रासामु छ, तर बढ्दो जनसंख्या र प्रदूषित बन्दै गएको सहरको श्वास फेर्ने बाध्यताले अब यो चौथो गुरुयोजनालाई कार्यान्वयन गर्नुको कुनै विकल्प सरकारसँग बाँकी छैन । सन् २०५० को काठमाडौं कस्तो हुनेछ भन्ने कुरा अब कागजमा लेखिएको यो दुई खर्बको गुरुयोजना कसरी र कति इमानदारीका साथ सडकमा उत्रिन्छ भन्नेमै पूर्ण रूपले निर्भर गर्नेछ ।
