बालेन सरकारमा के भइरहेको छ ? किन विधेयक होइन प्रधानमन्त्री अध्यादेश ल्याइरहेका छन् ? यदि अध्यादेशबाटै शासन गर्ने हो भने संसद्को दुई तिहाई बहुमत के का लागि ? सरकार जवाफ दिँदैन किन ? के छ अध्यादेशको रहस्य !
००००
काठमाडौं । संसद् बन्द छ । तर सरकार रोकिएको छैन । गत बुधबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले भूमि, वन र विपद्सम्बन्धी तीन अध्यादेश ल्याउने निर्णय ग¥यो । विपद्सम्बन्धी अध्यादेशको पृष्ठभूमिमा रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता भएकाको कानुनी हैसियत, राहत र पुनस्र्थापनाको समस्या छ । भूमि अध्यादेशले भूमिहीन दलितदेखि अव्यवस्थित बसोबासीसम्मको जग्गा व्यवस्थापनको कानुनी बाटो खोलेको छ । तर यी अध्यादेश विधेयकका रुपमा किन आएनन् ? यसबारे सरकार जवाफ दिँदैन । बरु विपद्मा वेपत्ता भएका परिवारको पीडा देखाएर मूल प्रश्न छायामा पार्ने प्रर्यत्नमा लागेको देखिन्छ ।
बालेन सरकारका लागि अध्यादेश नयाँ औजार होइन । सरकार बनेको केही महिनामै उसले अध्यादेशको बाटो रोजिसकेको थियो । त्यो पनि संसद् अधिवेशन नबसेको अवस्थामा मात्रै होइन, संसद् बोलाइसकेपछि पनि रोकेर अध्यादेश ल्याएको छ। १७ वैशाख २०८३ मा सरकारले संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस ग¥यो । राष्ट्रपतिले अधिवेशन आह्वान पनि गरे । त्यसको २४ घण्टा नबित्दै सरकारले त्यसलाई स्थगित गर्न अर्को सिफारिस ग¥यो । जसो जसो बाहुन उसै उसै स्वाहा भन्ने नेपाली उखान छ । यही उखान चरितार्थ गर्दैराष्ट्रपति रामचन्द्र पौडेलले आफैँले बोलाएको अधिवेशन बस्दै नबसी स्थागित गरे ।
त्यसको केही दिनपछि भने मन्त्रिपरिषद्ले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष पठायो । राष्ट्रपतिले जारी गरे । एक पछि अर्को गर्दै अध्यादेशको संख्या बढ्दै गयो । समग्रमा सरकारले त्यसबेला आठ अध्यादेश ल्यायो । अनि बल्ल २८ वैशख २०८३ मा संघीय संसद्को अधिवेशन बोलाइयो । आठ वटामध्ये चार वटा अध्यादेशलाई संसद्को प्रक्रियामा लगियो भने चार अध्यादेश संवैधानिक ६० दिने अवधिभित्र प्रतिस्थापन विधेयकबाट पारित हुन नसकेपछि स्वतः निष्क्रिय भए । संविधानको धारा ११४ ले संघीय संसद्का दुवै सदनको अधिवेशन नचलेको अवस्थामा ‘तत्काल केही गर्न आवश्यक परेमा’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
गत वैशाखमा त्यस्तो के आइलागेको थियो ? र सरकारले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर आठ–आठ वटा अध्यादेश ल्यायो ? अनि अहिले ल्याएका तीन वटा विधेयकको अपरिहार्यता के थियो ? सरकार बनिबनाउ जवाफ दिन्छ । ठोस जवाफ दिँदैन किन ? यहीँबाट राजनीतिक प्रश्न सुरु हुन्छ । महत्वपूर्ण कानुन बनाउन सरकार किन संसद् छलिरहेछ ? अर्थात्, सरकारको अध्यादेश प्रयोग एकपटकको अपवाद रहेन । अहिले संसद्को बजेट अधिवेशन सकिएको केही दिनमै फेरि तीन अध्यादेश अगाडि बढायो । पहिले १५ सय बढी सार्वजनिक पदाधिकारीलाई पदमुक्त गराउन अध्यादेश ल्यायो । सार्वजनिक खरिद ऐन संशोधन अध्यादेशबाटै ग¥यो ।
यहाँ प्रश्न सरकारले अध्यादेश ल्याउन पाउँछ कि पाउँदैन भन्ने होइन । संविधानतः सरकारले अध्यादेश लयनउ पाउँछ । प्रश्न विधिअनुसार संसद्मा विधेयक ल्याएर कानुन किन बनाइरहेको छैन भन्ने हो । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत भएको सरकारले किन बारम्बार संसद्को बाटोभन्दा अध्यादेशको बाटो रोजिरहेको छ ? सरकारसँग संसद्मा ठूलो बहुमत छ । नयाँ संसद् छ, नयाँ सरकार छ । सरकार र सत्तारुढ दल रास्वपाले आफूलाई पुराना राजनीतिक दलको अभ्यासभन्दा फरक देखाउने दाबी गरिरहेको छ । तर संसद् बोलाइयो, फेरि रोकियो र अध्यादेश ल्याइयो भने भनाइ र गराइमा एकरुपता आउँछ त ? आउँदैन । यस्तोमा स्वभाविक प्रश्न उठ्छ ।
संविधानविद् विपिन अधिकारी दुई तिहाइ बहुमतको सरकारले जनमतको कदर गर्न पनि सरकारले संसद् छल्न नहुने बताउँछन् । उनी भन्छन्, ‘सरकारले अध्यादेशको को औचित्य राज्य सञ्चालनमा देखिएको कानुनी आवश्यकतालाई र तत्काल सुधारको आवश्यकतासँग जाड्नुपर्छ । अन्यथा, संसद् बोलाइसकेपछि अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनुको आवश्यकता के थियो ? संविधानविद् भीमार्जुन आचार्यको प्रश्न अझ बढी कानुनी छ । एनका नजरमा अघिल्लो पटक सरकारले संवैधानिक परिषद्सम्बन्धी कानुनमा कानुनी शून्यता रहेको तर्क गरे अध्यादेश ल्याएको थियो । जबकि, सर्वोच्च अदालतले अध्यादेश निष्क्रिय भएपछि मूल कानुनको पुरानो व्यवस्था स्वतः ब्युँतिने व्याख्या गरिसकेको छ ।
अझ महत्त्वपूर्ण कुरा, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रधानन्यायाधीश नियुक्तिको बाटो सहज बनाउने सरकारी तर्क गरिए । यस तर्कसँगै संवैधानिक निकायको नियुक्ति प्रक्रियामा कार्यपालिकाको प्रभाव कति बढ्छ ? यो प्रश्नको जवाफ प्रधानन्यायाधीश नियुक्तिले दिइसकेको छ । सरकारले चाहेअनुसार वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गरियो । हालै न्याय परिषद्ले नन्यायाधीश नियुक्तिमा पनि वरिष्ठता मिचेको छ । एकातिर सिस्टम भत्काएपछि अन्यत्र भत्काउने नजिर बसेसँगै यसको सिको गर्नेहरू बढेका छन् । यो अघिल्लो अध्यादेशको कमाल हो । अर्थात्, पहिलो चरणकै अध्यादेशले दुईवटा कुरा देखाएको थियो ।
एउटा, सरकार छिटो कानुन परिवर्तन गर्न चाहन्छ ।
अर्को, त्यो छिटो प्रक्रियामा संसद् कति आवश्यक ठानिन्छ ?
अघिल्लो पटक आएका आठ अध्यादेश संसद् खुलेपछि संसद् पुगे । तीमध्ये केही कानुन बने, केही बनेनन् । चार अध्यादेश त निष्क्रिय नै भए । त्यो अनुभवबाट सरकारलाई पाठ सिक्नुपर्ने थियो, अध्यादेशबाट कानुन ल्याउन सकिन्छ, तर संसद्लाई स्थायी रूपमा पन्छाउन सकिँदैन । किनकि अन्ततः संसद् फर्किन्छ । अध्यादेश पनि संसदमै पुग्छ ।
तर, सरकारले पाठ सिकेन । पहिले संसद् बोलाइएको थियो र त्यसलाई स्थगित गरेर अध्यादेश ल्याइएको थियो । अहिले संसद्को अधिवेशन स्थगित गरेको केही दिनमै अध्यादेश अगाडि बढाइएको हो । १६ असोज २०८३ मा बजेट अधिवेशन अन्त्य भयो । त्यस अधिवेशनमा सरकारले ६४ विधेयक दर्ता गर्ने लक्ष्य राखेको थियो । तर ३५ विधेयक मात्रै संसद् पुगे र १२ वटा कानुन बने । यो पृष्ठभूमिमा सरकारले तीन वटा अध्यादेश अगाडि बढाएको हो । यहाँनेर प्रश्न छ, तीनवटै विषय तत्काल ल्याउनैपर्ने काुन थिए ? कि संसद्को अर्को अधिवेशनसम्म कुर्नै नसकिने अवस्था थियो ?
भूमिसम्बन्धी अध्यादेशलाई हेर्ने हो भने यो प्रश्न झन् गहिरो हुन्छ ।
सरकारले भूमिहीन दलितलाई दुई वर्षभित्र जग्गा उपलब्ध गराउने भनेको छ । जग्गा उपलब्ध गराउन नसके जग्गा खरिद गर्न रकम अनुदान दिने व्यवस्था गरेको छ । भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्यांकअनुसार भूमिहीन दलित परिवारको संख्या ७९ हजार १४४ छ । संविधानले पनि भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउन राज्यलाई जिम्मेवारी दिएको छ । तर संविधान जारी भएको ११ वर्ष पुग्दा पनि त्यो अधिकार व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । अब बालेन सरकारले त्यसैलाई फेरि दुई वर्षको घडीमा राखेको छ । यसले अध्यादेशको कथा कानुन निर्माणको कथासँग मात्रै जोड्दैन । यसले यो बालेन सरकार कसरी शासन गरिरहेको छ ? भन्ने दृष्टान्त देखाउँछ । विपद्सम्बन्धी अध्यादेशका हकमा सरकारले तत्कालीन आवश्यकता देखाउन सजिलो आधार पाएको छ । भोटेकोशी बाढीपछि बेपत्ता मानिसका परिवारले राहत, क्षतिपूर्ति, बीमा, सम्पत्ति र मृत्यु दर्ताजस्ता कानुनी समस्या भोगिरहेका छन् । विपद् प्राधिकरणले पनि कानुन संशोधन गरेर बेपत्ताको यकिन, राहत र मृत्यु दर्ता सहज बनाउनुपर्ने आवश्यकता औंल्याएको थियो ।
तर भूमि र वनसम्बन्धी विषयमा प्रश्न अलि फरक छ । भूमिहीन दलितको समस्या आज उत्पन्न भएको होइन । वनसम्बन्धी कानुनी समस्या पनि नयाँ होइन । त्यसैले प्रश्न उठ्छ, यी विषय संसद्को नियमित प्रक्रियाबाट किन अघि बढेनन् ? भूमिहीन दलितलाई दुई वर्ष, तर जग्गा कहाँ ? भूमिसम्बन्धी अध्यादेशले यो बहसलाई अझ गहिरो बनाएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारका अनुसार नेपालमा १३.४४ प्रतिशत दलित रहेका छन् । यसमध्ये तराईमा कृषि पेसा गर्ने दलितहरूमध्ये ६० प्रतिशत भूमिहीन छन् । वर्तमान सरकारले सरकार गठन भएलगत्तै दलितसँग माफी माग्ने र दलित अधिकारका लागि आवश्यक कार्यक्रम ल्याउने भनेर शासकीय सुधारसम्बन्धी १०० बुँदामा यो विषय समेटेको थियो । तर हालसम्म सरकारले दलितसँग औपचारिक रूपमा न माफी माग्यो न त्यसअनुसारको नीति र कार्यक्रम ल्याएर कार्यान्वयन गरेको छ ।
बरु सरकारी अधिकारीहरू संविधानले जमिन बाँड्ने मात्रै कुरा गरेको तर र जमिन कहाँबाट ल्याउने भन्ने कुरा नगरेकोले समस्या भएको बताउँछन् । ‘जनसंख्या बढिरहेको छ, तर जमिन बढ्दैन । यस्तो अवस्थामा जमिन बाँड्ने कुरा चुनौतीपूर्ण छ,’ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसकारण यस पटक अध्यादेश ल्याउँदा भूमि दिन नसके रकम अनुदान दिने भनेका छौं ।’ यसकारण अध्यादेश कार्यान्वयन हुनेमा कतिपयको शंका छ । प्रमुख सचेतक परियार भन्छन्, ‘यदि सरकारले भूमिहीन दलितलाई जग्गा दिन चाहेको थियो भने यसअघि संसद्मै यो विधेयक ल्याउन सक्थ्यो । अध्यादेश ल्याउँदा पनि दलित अधिकारसँग एकीकृत ऐन ल्याउन सक्थ्यो । परियारको प्रश्न छ, ‘संविधानले तीन वर्षभित्र जग्गा दिन्छु भनेको थियो, दिएन । ११ वर्षपछि अध्यादेश ल्याएर सरकारले अर्को दुई वर्षभित्र जग्गा दिन्छु भनेको छ । यसबीचमा स्थानीय तह र प्रदेशका चुनाव भइसक्छन् । यो अध्यादेश कतै चुनाव केन्द्रित त छैन ?’
२१ फागुन २०८२ को चुनाव अगाडि रास्वपाले दलितलाई अधिकार दिलाउने भनेर मत लिएको थियो । अब फेरि फकाउन मात्रै अध्यादेश ल्याइएको त होइन ? प्रश्न बाँकी छ । ‘जनता कहाँ मत माग्न जाँदा काम हुँदैछ, ऐन बनिसक्यो, जग्गा खोजिँदै छ, प्रक्रिया चलिरहेको छ भन्यो । विगतमा अरूले यस्तो भने अब रास्वपाले भन्न लागेको हो कि !,’ परियार भन्छन्, ‘दलितलाई फकाइरहने र भोट लिइरहने काम नहोस् । दलित सधैं फकिइरहने भोट बैंक भइरहन सक्दैनन् ।’ यहीँ विषयमा शासनशैली पनि झल्किन्छ । सरकारले संसद् छलेर अध्यादेश ल्याएको हो भन्ने आरोप विपक्षी दलहरूले लगाएका छन् ।
कांग्रेसले स्पष्ट बहुमत भएको सरकारलाई अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको संकेत भएको भनेर प्रश्न गरिसकेको छ । संविधानविद्हरूको आलोचना भने सैद्धान्तिक छ । सर्वोच्च अदालतले यसअघि नै संसद्लाई छलेर अध्यादेशबाट निरन्तर शासन चलाउने अभ्यास शक्ति पृथकीकरणको सिद्धान्तसँग जोडेर हेरेको छ । संसद् छल्ने उद्देश्यले जारी गरिएको अध्यादेशलाई ‘छद्म विधायन’को प्रश्नसँग जोडिएको न्यायिक व्याख्या पनि गरिसकेको छ । २७ जेठ, २०७८ मा सर्वोच्च अदालतले नागरिकता अध्यादेशसम्बन्धी विवादमा अन्तरिम आदेश जारी गर्दा ‘अध्यादेश राजनीतिक उद्देश्य प्राप्तिको अस्त्र होइन’ भनेर व्याख्या गरेको थियो ।
त्यसबेला संवैधानिक इजलासले भनेको थियो, ‘शासकीय सुविधा वा अमुक राजनीतिक उद्देश्य प्राप्तिका लागि संसद्लाई छलेर अध्यादेश जारी गर्दा त्यसबाट विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप गरेको अवस्था पैदा हुन सक्छ ।’ यसको अर्थ हरेक अध्यादेश असंवैधानिक हुन्छ भन्ने होइन । बरु उल्टो, अध्यादेश संविधानले दिएको अधिकार हो, तर संसद्को विकल्प होइन । यही फरक महत्त्वपूर्ण छ । यसकारण बालेन सरकारले अब दुई वटा हिसाब दिनुपर्नेछ ।
पहिलो : अध्यादेशमार्फ के गर्न खोजेको हो ? सरकारले आफ्नो गति प्रमाणित गर्नुपर्नेछ ।
दोस्रा् : संसद्प्रतिको सरकारको व्यवहार पनि स्पष्ट पार्नुपर्छ ।
यहाँनेर पहिलो प्रश्न परिणामको हो । भूमिहीन दलितले दुई वर्षभित्र जमिन पाउँछन् कि पाउँदैनन् ? बेपत्ता व्यक्तिका परिवारले राहत र कानुनी मान्यता पाउँछन् कि पाउँदैनन् ? वनसम्बन्धी संशोधनले सरकारको कामलाई के सहज बनाउँछ ? दोस्रो प्रश्न प्रक्रियाको हो । कानुन बनाउन सरकार किन संसद् छलिरहेको छ ? किन विधेयक होइन ? किन संसदीय समितिको छलफल होइन ? किन सार्वजनिक बहस होइन ? सरकारको पक्षमा एउटा बलियो तर्क छ, संसद् अधिवेशनमा नभएको अवस्थामा कानुनी आवश्यकता तत्काल सम्बोधन गर्न संविधानले अध्यादेशको बाटो दिएको छ ।
विपक्षी र संविधानविद्हरूको प्रश्न चmन कडा छ, त्यस्तो आवश्यकता संसद्को अर्को अधिवेशनसम्म पर्खन नसकिने स्तरको थियो ?
दुवै पक्षलाई एउटै ठाउँमा राखेर हेर्दा बहसको वास्तविक केन्द्र भेटिन्छ । अध्यादेश वैधानिक छ कि छैन भन्ने होइन । अध्यादेशलाई सरकार कति नियमित शासन उपकरण बनाउँदैछ भन्ने प्रश्न हो । अघिल्लो अध्यादेशको हिसाब अझै बाँकी छ । बालेन सरकारका आठ अध्यादेश ल्याउँदा तीमध्ये चार निष्क्रिय भए । अर्थात्, सरकारले एकैपटक ठूलो संख्यामा अध्यादेश ल्याएर त्यसलाई संसल्मा लैजाँदा पनि सबै अध्यादेश कानुन बन्न सकेनन् । यसको अर्थ संसद् केवल औपचारिक स्वीकृति दिने संस्था होइन भन्ने देखाउँछ । संसद्ले अध्यादेश स्वीकार गर्न सक्छ । अस्वीकार गर्न सक्छ । संशोधन गर्न सक्छ । राजनीतिक प्रश्न उठाउन सक्छ । यही नै विधायिकाको भूमिका हो । त्यसैले संविधानविद्हरू फेरि तीन अध्यादेश ल्याउँदा सरकारसँग अघिल्लो अनुभवको उत्तर पनि मागिरहेका छन् ।
पहिलेका अध्यादेशबाट सरकारले के सिक्यो ? अध्यादेशको बाटोले कानुन बनाउन सजिलो भयो कि संसद्मा अड्किएर थप राजनीतिक लागत मात्रै बढ्यो ? तर, सरकारी अधिकारीहरू फेरि पनि बालेन सरकारको शासनशैलीको एउटा प्रमुख विशेषता सम्झाउँछन्, छिटो निर्णय गर्ने । संरचना बदल्ने, निकाय गाभ्ने, नियम बदल्ने, प्रशासनलाई निर्देशन दिने र जहाँ कानुनी अड्चन छ, त्यहाँ कानुन नै संशोधन गर्ने । यो शैलीले सरकारलाई निर्णयमुखी देखाउन सक्छ । तर लोकतन्त्रमा सरकारको सफलता निर्णयको गतिले मात्रै मापन हुँदैन । निर्णय कसरी भयो ? कसको सहभागितामा भयो ? कसले त्यसलाई जाँच्यो ? कसरी सच्याउन सकिन्छ ? यी प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
संसद् यही परीक्षण गर्ने संस्था हो । त्यसैले संसद् बन्द हुँदा अध्यादेशबाट कानुन बनाउनु सरकारका लागि सजिलो हुन सक्छ । तर संसद् खुलेपछि त्यसै कानुनलाई बचाउनु, आवश्यक संशोधन स्वीकार्नु र त्यसको औचित्य पुष्टि गर्नु कठिन हुन्छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत भएको सरकारका लागि यो प्रश्न झन् गहिरो छ । बहुमत हुँदाहुँदै संसद्को बाटो किन छोट्याइयो ? यदि सरकारसँग संसद्मा पर्याप्त समर्थन छ भने आफ्ना विधेयक पारित गराउन उसलाई राजनीतिक आधार पनि छ । त्यसैले अध्यादेशको प्रयोगले कानुन बनाउने क्षमताभन्दा बढी संसद्प्रतिको सरकारको दृष्टिकोणबारे प्रश्न जन्माउँछ । अहिले आएका तीन अध्यादेशका विषय फरक–फरक छन् । विपद्सम्बन्धी अध्यादेशको पछाडि तत्कालीन मानवीय समस्या छ । भूमि अध्यादेशको पछाडि वर्षौंदेखिको संवैधानिक दायित्व छ । वन अध्यादेशको पछाडि कानुनी र विकाससम्बन्धी प्रश्न छन् । त्यसैले सबैलाई एउटै तराजुमा राख्न मिल्दैन ।
तर तीनैलाई जोड्दा एउटा कुरा उब्जिन्छन्, सरकारले संसद्को नियमित विधायिकी प्रक्रियाको सट्टा अध्यादेश रोजेको छ ? यो पहिलोपटक होइन । त्यसैले अब तर एउटा प्रश्नको उत्तर खोज्नुपर्छ, संसद् बलियो बनाएर सुशासन र सुधार गर्ने वाचा गरेको सरकार किन धमाधम अध्यादेश ल्याइरहेको छ ?
