काठमाडौं : झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन्। कोठाबाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु। निर्णय लिन गाह्रो भइरहेको छ। यसो गरुँ कि उसो गरुँ भइरहेको छ।
उद्यमी बमलाई झैं धेरैलाई अहिले अन्योलको भूमरीमा पार्ने काम कोरोना भाइरसले गरेको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमण नेपालमा पनि बढेको छ। मुलुकका ७३ जिल्लामा संक्रमण फैलिएको छ। कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा गरेको थियो। यस अवधिमा कोरोना भाइरसको संक्रमण घट्नु साटो झन् झन् बढ्यो। जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो।
अहिलेसम्म मुलुकभित्र १९ जनाको कोरोना भाइरसबाट ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, विदेशमा रहेका १ सय २७ जना नेपालीको मृत्यु भएको छ। बेलायत, अमेरिका, युएई, साउदी अरेबिया, कुबेत, कतार, जापान, टर्की लगायत १३ वटा मुलुकमा रहेका नेपालीको मृत्यु भइसकेको छ।
खुकुलो लकडाउनको जोखिम
चैत ११ गते घोषित लकडाउनमा सहजीकरण गर्ने सरकारी निर्णयसँगै निर्वाधरूपमा राजधानी भित्रनेको संख्या बढेको छ। संक्रमितको संख्या दिनानुदिन बढेका बेला लकडाउनलाई कडाई गर्नुपर्नेमा झन् खुकुलो बनाउँदा जोखिम चुलिएको विज्ञको भनाइ छ। कोरोनाका नयाँ संक्रमित दैनिक तीन सयको हाराहारीमा वृद्धि भइरहेको बेला आइतबार ४ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बाहिरी जिल्लाबाट यात्रा गरेर आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छैन। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना भाइरसको परीक्षण गरेर आउनु पर्दैन। मन्त्रालयको निर्देशिकामा उल्लेख गरिएको व्यवस्थाबाहेक कोही कसैको पनि परीक्षण नगर्न÷नगराउन स्वास्थ्य संस्था, प्रयोगशाला र सरोकारवाला निकायमा अनुरोध गरिएको उनले बताए। ‘कुनै पनि व्यक्ति यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ। जहिले पायो त्यहीले। जसलाई पायो त्यसलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन्छ। त्यो समय पारेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ।’ उनले भने। यद्यपि, अत्यावश्यक नभई यात्रा नगर्न र घरबाहिर जानै पर्ने भए व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र सावधान अपनाउन उनी आग्रह गर्छन्।
सरकारले लकडाउन खुकुलो गर्ने घोषणा गरेसँगै कोरोना भाइरसको संक्रमण सर्ने÷सार्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। जनजीवन सामान्यतर्फ लैजान सरकारले लकडाउनमा सहजीकरण गरे पनि यात्रुले सावधानी नअपनाउने गरेकाले जोखिम रहेको उनको भनाइ छ। काठमाडौंका सडकमा सवारीसाधन चल्न थालेका छन्। पैदल एवं सवारी यात्रुको चाप बढेको छ। सरकारको निर्णयबाट नै वैशाख २४ गते चहलपहल र आवागमन बढेको हो। जेठ २८ गते जोरबिजोर प्रणालीमा सवारीलगायत कार्यालयसमेत सञ्चालन गर्ने निर्णयपछि आवागमन ट्राफिक जामसमेत सुरु भइसकेको छ। सडकमा प्रदर्शनी एवं नाराबाजीसमेत भइरहेको छ।
कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट आउने नेपालीको व्यवस्थापन र सीमाबाट फर्केका व्यक्तिको स्वास्थ्यमा विशेष निगरानी नराखेका कारण जोखिम पनि बढेको छ। वरिष्ठ सघन उपचार (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की संक्रमणको जोखिम झन् बढेको भन्दै सावधानी अपनाउन सुझाव दिन्छन्। उनी भन्छन्, ‘ भरसक घरबाहिर ननिस्केकै राम्रो हुन्छ। निस्कनु परे मास्क लगाएर सावधानीपूर्वक हिँडडुल गर्नु उपयुक्त हुन्छ।’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो समय सडकमा आउनुपर्ने नभएको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘यो समय सडकमै आउनुपर्ने हो र ? होइन। कोरोनाको चुनौती सकिएको छैन, बरु बढ्दैछ। भारतको बढ्दो संक्रमणले पनि चुनौती थपेकै छ। सचेत बनौं।
संक्रमितका हिसाबले छिमेकी भारत विश्वको तेस्रो मुलुक बनेको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। झन्डै चार लाख भाइरसबाट संक्रमित छन्। वैशाख १९ मा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशनसमेत दिएको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा लकडाउनले जनजीवन अस्तव्यस्त भएको जनाउँदै निर्देशन दिएको थियो। लकडाउन खुकुलो भएसँगै सरकारविरोधी प्रदर्शन जारी छन्। मुख्यमन्त्री पोखरेलले त सडकमा नउत्रन आग्रह गर्दै फेसबुकबाट आग्रह गरेका छन्।
