कैलालीको भजनी नगरपालिका–४, झलझलियाका २० वर्षीय प्रकाश विश्वकर्मा र टीकापुरकी मालती रावल प्रेम सम्बन्धमा थिए।
सामाजिक सञ्जालबाट गाँसिएको मायापिरती विवाहमा परिणत गर्ने उनीहरूको इच्छामा जात तगारो बन्यो।
कथित अछुत केटालाई कथित उच्च जातका अभिभावकले आफ्नी छोरी सुम्पिने कुरै भएन। तर प्रकाश र मालतीबीच प्रेम यति गाढा बनिसकेको थियो, एकअर्कालाई छाड्न सक्ने अवस्थामै थिएनन्।
उनीहरूलाई यसैगरी अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा रुकुममा जाजरकोटका नवराज विकसहित उनका साथीसमेत ६ जनालाई लखेटीलखेटी मारेको घटना थाहा नभएको होइन।
तर उनीहरूले ज्यानको पर्वाह नगरी आफ्नो प्रेमलाई विवाहमा परिणत गरेरै छाड्ने निर्णय गरे र यही असार ४ गते भागेर विवाह गरे।
यसपछि मालतीको माइतबाट प्रकाशलाई ‘रुकुमकै काण्ड’ दोहोर्याइदिने धम्की आउन थाल्यो। जसका कारण उनीहरू घर फर्किन सकेनन्। र, आफ्नो गाउँ आसपासको जंगलमा लुकेर बस्न थाले।
त्यहीँ पनि मोबाइल फोनमा बारम्बार मारिदिने धम्की आइरह्यो। जसले गर्दा यो जोडीले प्रविधिको प्रयोग गर्दै फेसबुकमा भिडिओ बनाई आफूहरूको ज्यान खतरामा रहेको र बचाइदिन हारगुहार गरे।
प्रकाशको घरमा सम्पर्क हुने गरेको मालतीको परिवारले घटना जानकारी पाएपछि एकपटक दुवै जनालाई सोधपुछ गर्ने भन्दै घर झिकाउन भन्यो। सकारात्मक आश्वासन पाएपछि बिहीबार बेलुका प्रकाश र मालती झलझलियास्थित घरमा फर्किए।
तर शुक्रबार दिउँसो उनीहरूले नसोचेको कुरा भयो। मालतीको परिवारले केटालाई कुटे र आफ्नी छोरीलाई ज,बर्जस्ती तानेर लगे।
मालतीको परिवारले उनलाई गाडीमा हालेर लगेको प्रकाशका आफन्त बताउँछन्।
‘एउटा कार र ७/८ वटा मोटरसाइकलमा मानिस आएका थिए। उहाँहरूले केटीलाई उठाएर लगेका छन,’ प्रकाशका बाजे प्रताप ताम्राकारले नेपालखबरसँग भने।
उनका अनुसार प्रकाश र मालतीको घर झण्डै ४० किलोमिटरको दूरीमा छ। प्रकाश भारतमा रोजगारी गर्छन्। केही महिनाअगाडि मात्रै उनी घर आएका थिए।
प्रकाश र मालतीको भिडिओ छ्यापछ्याप्ती भएपछि जिल्ला प्रहरी कार्यालय (कैलाली) ले पनि घटनामा चासो देखाएको छ।
शुक्रबार केटा र केटी दुवै पक्षलाई बोलाएर इलाका प्रहरी कार्यालय (भजनी) मा छलफल भएको छ।
जिल्ला प्रहरी कार्यालय (कैलाली) का एसपी विश्व अधिकारीले केटा–केटी दुवै आफूहरूको सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको बताए।
केटा र केटी दुवैलाई आआफ्ना परिवारको जिम्मा लगाइएको छ।
‘दुवै पक्षसँग बुझ्दा भिडिओमा भनेजस्तो डराएको, धम्की केही पाइएन। केही सपोर्ट पुग्छ कि भनेर बुटवलबाट फर्किने क्रममा कर्णालीपारिको जंगलमा भिडिओ बनाएर सार्वजनिक गरेको खुल्नमा आएको छ,’ जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी प्रतीक विष्टले भने।
