नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन्।
सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताए।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाममात्रको महाधिवेशन गरिएको टिप्पणी गरे।
उनले विगत ३३ बर्षदेखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए।
‘गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔं पार्टी हुन्थ्यो। त्यो कसको कारणले भयो? जुन पार्टीको नेता ३३ बर्षसम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाहे छ’, उनले भने, ‘अझै शान्ति प्रक्रियामा आईसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुदै गयो। किन कमजोर भयो? विचारमा, विधिमा ध्यान गएन। कार्यशैली पनि ठिक भएन। चिन्तनमा पनि ठिक भएन। त्यसकारणले पार्टी तुईदै तुईदै गएपछि पार्टी कमजोर भयो। यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले?’
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे।
नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनको छ।
