नेपाली कांग्रेसले सर्वोच्च अदालतले विवेकपूर्ण फैसला गरेको बताएका छन्।
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सेतोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसलाले संविधानलाई ट्याकमा ल्याएको बताए।
‘बालुवाटार र शितल निवासले मध्यरातमा आवेगका साथ चालेको कदम विवेकका साथ सर्वोच्चले ट्याकमा फर्काएको छ,’ उनले भने, ‘संविधान लिकबाहिर धकेलिँदै थियो, सर्वोच्चले लिकमा ल्याइदियो।’
उनले सर्वोच्चको फैसलाबाट कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने मात्र नभई संविधान कै रक्षा भएको पनि बताएका छन्।
‘कांग्रेसका लागि अहिले सरकारको नेतृत्व लिने मात्र होइन इतिहास निर्माण गर्ने अवसर हो,’ उनले भने।
कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चले आज परमादेश दिएको छ।
