गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।
भन्नेहरु भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । पार्श्व गायनमा एकछत्र राज थियो ।
तर, सफलाको ग्राफ सधैं एकनाश उकालो लाग्दैन । चर्चा र सफलताको उत्कर्षमा पुग्दै गर्दा मिलन अमात्यको गति एकाएक धिमा भयो । उनको सांगीतिक जीवन धर्मरायो । अनि पालो आयो, मेलिना राईको ।
यसरी मिलन अमात्यको करियरमा अचानक धक्का लाग्नुका पछाडि दुईवटा कारण थिए । एक, मेन्सन अमात्यसँगको ६ वर्षे लामो दाम्पत्यमा पूर्णबिराम लाग्नु । दोस्रो, गायक दीपक लिम्बुसँगको उनको रहस्यमयी सम्बन्धको चर्चा हुनु ।
जुन दिन ‘श्रीमानले आफ्नो सांगीतिक करियरमा सहयोग नगरेको र बाधा पुर्याउन खोजेको’ भन्दै मिलन मेन्सनको घरबाट बाहिरिइन्, त्यसपछिका दिनमा उनको ‘सांगीतिक करियर’ अरु कमजोर देखिए ।
तर गीत रेकर्ड गर्दैमा र स्टेज कार्यक्रम पाएकै भरमा सफल मान्नु गलत भएको स्वीकार गर्छिन् उनी । ‘दर्शकश्रोताले मिलन तैंले राम्रो गीत गरिस् भन्नुभयो भने म सफल हो,’ मिलन भन्छिन्, ‘नभए, सफल भएँ भन्नु भ्रममा रमाउनु मात्र हो ।’
२०७४ साल असोज २ गते । नेपाली सञ्चारमाध्यमहरुमा गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए ।
सन् २०११ मा मागी विवाह गरेका उनीहरुले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई संगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।
त्यही बेला मिलन गायक दीपक लिम्बुसँगको प्रेममा रहेको गसिपहरु पनि आएका थिए । दीपकसँग विवाह गर्नकै लागि मेन्सनलाई डिभोर्स दिएको आरोप मिलनलाई लाग्यो ।
नकारात्मक टिकाटिप्पणीले मिलनलाई असहज बनायो । मिलन भन्छिन्, ‘प्रेमको कारण मैले डिभोर्स दिएको भन्ने समाचारले मलाई मा-नसिक पीडा दिएको थियो । तर परिवार र साथीहरुको सहयोगमा त्यो भंगालोबाट निस्किन सफल भएँ ।’
डिभोर्सलाई जिन्दगीको एक हिस्सा मान्छिन् मिलन । ‘जीवनमा धेरै उतार चढावहरु आउँछन् । त्यसलाई स्वीकार नगर्ने हो भने त जीवन जिउनै सकिन्न । अब अरु के कहानी कोरिएको छ, हेर्न बाँकी छ’, उनी केही मलिन सुनिन्छिन् ।
त्यसो भए दीपक लिम्बुसँग प्रेमको गसिप झुटो थियो ? मिनल प्रतिप्रश्न गर्छिन्, ‘त्यो कुरा सत्य थियो भने अहिले नतिजा देखिनु पर्ने थियो । खोई त्यस्तो भयो त ?’
आरोप लगाउनेहरुलाई समयले उत्तर दिएको उनको तर्क छ । दीपकसँग आफूले धेरै सहकार्य गरेकाले अफवाह फैलिएको उनको दाबी छ ।
डिभोर्सपछि मिलन एक्लो जीवन बिताइरहेकी छिन् । उनी आफू अहिले प्रेममा पनि नभएको बताउँछिन् ।
तर विवाह गर्ने सोचमा छिन् । ‘अहिले म बुढी भइसकेकी छैन नि,’ ठट्यौली शैलीमा उनले भनिन्, ‘विवाह त पक्कै गर्नेछु, तर कहिले गर्छु भन्ने योजना बनाइसकेको छैन ।’
आसाममा जन्मिएकी मिलनको परिवार संगीतिक थियो । उनका मामा कृष्ण मिजाल र ठुलीआमा डुकुना नेवार आसामको सांगीतिक आकाशमा सफल थिए । उनीहरुको छत्रछायामा हुर्केकी मिलनले १३ वर्षको उमेरमा स्टेजमा गाउन थालिन् ।
मिलनको करिअरको टर्निङ प्वाइन्ट भने सन् २००३ मा भएको एक प्रतियोगिता भयो । जयपुरमा भएको प्रतियोगितामा उनी फस्ट रनरअप भइन् । उनी भन्छिन्, ‘त्यो उपाधीपछि मैले आसाममा आएर धेरै गीतहरु रेकर्ड गराउने अवसर पाएँ ।’
मिलनले आसाममा १० वटा एल्बम निकालिन्, जसमध्ये केही नेपाली गीतका पनि छन् । नेपाली गीत संगीत गाउन भने आफूलाई बाबाले प्रेरित गरेको सुनाउँछिन् ।
त्यसबेला आसाममा नेपाली गीतका एल्बमहरु कमै मात्र पाइन्थे, तर बाबाले टाढाटाढा पुगेर नेपाली गीतका एल्बमहरु ल्याएर सुन्न लगाएको उनलाई याद छ । त्यही क्रममा उनी ‘मिलन’ एल्बमको तयारीसहित नेपाल आइन् ।
एल्बमको तयारीको क्रममा मेन्सनसँग भेट भयो । मिलन एल्बम बजारमा आउँदासम्म दुई मन एक भइसकेको थियो । एल्बमका समावेश गीतहरु ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ लगायतले राम्रै चर्चा पाए । मिलनले राम्रो ‘इन्ट्री’ मारिन् ।
चलचित्र नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’ गीतले उनलाई स्थापित नै गरायो । गायनसँगै मिलनले केही आफ्ना गीतको भिडियोमा मोडलिङ पनि गरेकी छन् । ‘सानैदेखि मोडलिङमा पनि रहर थियो । त्यही रहर पूरा गर्न केही भिडियोमा देखिएकी हुँ,’ उनले भनिन्, ‘तर अरुको गीतमा मोडलिङ गर्ने योजना भने छैन ।’
मिलनले करिअरको सुरुवात मिलन नेवार भएर नै गरेकी थिइन् । कतिपय पुराना गीतहरुमा उनको नाम ‘मिलन नेवार’ नै छ । तर, विवाहपछि ‘मिलन अमात्य’ भइन् । यो उनलाई फाप्यो पनि । नेवार हुँदा नचिनिएकी मिलन, अमात्य हुदाँ चर्चित भइन् ।
मिलन अहिले पुनः नेवार भएकी छन्, तर धेरैले अमात्यका रुपमा चिनेकाले असहज भएको अनुभव छ उनको । मिलन भन्छिन्, ‘आमात्य भनेर चिन्ने धेरै अडियन्स नेवारभन्दा नयाँ पो होकी भनेर झुक्किनु भएको छ । यो पनि विस्तारै मिल्दै जाला ।’
उनी सामाजिक संजालमा पनि निकै सक्रिया छन् । उनको सिम्पलपन र सुन्दरताको धेरैले तारिफ गर्छन् ।
