अर्जेन्टिनाका महान खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको सम्झनामा युरो विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरिएको हो । यस खेलबारे कुनै औपचारिक निर्णय नभएपनि युरोपेली फुटबलको सर्वाेच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) बीच छलफल भईरहेको अर्जेन्टिनी सञ्चार माध्यमहरुले जनाएका छन् ।
अर्जेन्टिनी पत्रिका डियारियो ओलेले ‘कम अन एज्जुरी, हामी त्यति राम्रो छैनौ’ लेखेका छन् । स्वर्गिय डिएगो अर्मान्डो म्यारोडोनाको दुवै देश (अर्जेन्टिना र इटाली) सँग अन्तर्राष्ट्रिय स्तरमा राम्रो सम्वन्ध रहेका कारण ओलेले म्याराडोना सुपर कपको नाम प्रस्ताव गरेको हो । यसअघि पनि कोपा र युरोविजेताले खेलेको इतिहास रहेकाले यो खेल हुने सम्भावना छ ।

म्यारोडोनाले लामो समय अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय र इटालियन सिरी ‘ए’ क्लब नेपोलीबाट लामो समय खेलेका थिए । ‘के तपाई अमेरिका र युरोपको च्याम्पियनबीच सुपर कपको कल्पना गर्न सक्नुहुन्छ ? नम्वर १० को लागि यो कत्ति राम्रो श्रद्धान्जली हुनेछ,’ ओलेले लेखेको छ । म्यारोडोनाको २५ नोभेम्वर २०२० मा ६० वर्षको उमेरमा निधन भएको थियो ।
म्यारोडोनाले सन् १९८६ मा अर्जेन्टिनाबाट विश्वकप जितेका थिए । सिरी ‘ए’ क्लब नेपोलीलाई १९८४ देखि १९९१ सम्ममा दुई घरेलु उपाधि जिताएका थिए । म्याराडोनाको निधनपछि नेपोलीले आफ्नो स्टेडियमको नाम नै म्याराडोनाको नाममा नामाकरण गरिसकेको छ ।
खेल इटाली र अर्जेन्टिनामध्ये एक स्थानमा हुने बताईएको छ । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न सफल भएको थियो ।
यता, आइतबार बिहान नै ब्राजिलस्थित माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोलीलाई १–० ले हराउँदै २८ वर्षपछि उपाधि जित्न सफल भएको थियो । जुन कप्तान लियोनले मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि समेत बनेको थियो । मेस्सीले कोपामा ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए ।
