दाङ । दाङकाे तुलसीपुरमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी र मेटमणि चौधरीको पुतला जलाइएको छ । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित केसी र क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीको एमाले भित्रैको केपी ओली समूहका नेता कार्यकर्ताले पुतला जलाएका हुन् । सोमबार बेलुका ओली पक्षधर नेता कार्यकर्ताले तुलसीपुरको मदन आश्रित चोकमा केसी र चौधरीको पुतला जलाएका हुन् ।
ओली निकट युवा संघ र अनेराश्ववियुको आयोजनामा भएको कार्यक्रममा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिनिधिसभा सदस्य केसी र चौधरीकाविरुद्ध चर्को नाराबाजी भएको थियो । उनीहरूले ‘गद्दार माकुने मुर्दावाद, प्रचण्डे मुर्दावाद, हिराचन्द्र केसी मुर्दाबाट, मेटमणि चौधरी मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
त्यसपछि आयोजित कोणसभालाई नेकपा एमाले ओली समूहका दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले सम्बोधन गर्दै ‘लाल गद्दारहरूलाई पार्टीमा कुनै स्थान नभएको’ बताए ।
