जनकपुरधाम – प्रदेश -२ मा एकैदिन ६ जनाको मृत्यु भएको छ। साथै प्रदेशको विभिन्न जिल्लामा ६ जनाको चट्याङ लागेर र एकजनाको घरको पर्खाल भत्कँदा मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । त्यस्तै ८ जना घाइते भएका छन्।
आज चट्याङ लागेर बारामा ४ जना, सर्लाही र सप्तरीमा एक÷एक जनाको मृत्यु भएको छ। त्यस्तै बारामा ७ जना र सप्तरीमा एकजना घाइतेको उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।
बारामा कलैया उपमहानगरपालिका वडा नं. १२ का ३५ वर्षीय आशा देवी कोइरी महतो, ४५ वर्षीय हलिमा खातुन, फेटा गाउँपालिका वडा नं. १ त्रिवेणीमा ३० वर्षीय सेन्डुदेबी र ४० वर्षीय सुनारपति देवीको मृत्यु भएको छ।
त्यस्तै सर्लाहीमा बाग्मती नगरपालिका वडा नं. १० का १८ वर्षीय छोटु पासवान र सप्तरी जिल्लाकोडाक्नेश्वरी नगरपालिका वडा नं. ८ का ७० वर्षीय धर्मी साहको चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए। सबैजना खेतमा काम गरिरहेको समय चट्याङ लाग्दा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ।
त्यस्तै सप्तरीमा नै खडक नगरपालिका वडा नं. १ स्थित सिस्वा गाउँमा वडा कार्यालयद्वारा भित्रि गाउँको बाटो बनाउने क्रममा रोलर चलाएपछि पर्खाल भत्कदा त्यहाँका स्थानिय राजष्कुमार मण्डलका १० वर्षीय छोरा शिव कुमार मण्डलको पर्खालले थिचि मृत्यु भएको छ।
