आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक इद मनाइँदैछ। झण्डै एक दशकअघि संयोगले हिन्दू धर्मालम्बीको तिज र मुसलमान धर्मालम्बीको इद पर्व एकै दिन परेको थियो। कामको सिलसिलामा निस्कदै गर्दा पर्सा परसवाको एक घरमा देखिएको दृश्यले ध्यान तान्यो ।
काठमाडौं, जोरपाटीकी गोम अधिकारी र पर्सा, परसवाकी सवनम खातुनले तीज र इद संयुक्त रूपमा मनाउँदै गरेको उक्त दृश्यले गाउँले समेत दङ्ग परेका थिए। फरक धर्म मान्ने दुई परिवारले एकै ठाउँ बसेर उल्लासपूर्वक पर्व मनाएको क्षण साँच्चै रमाइलो थियो।
रातो पहिरनमा रहेकी गोमालाई कालो बुर्कामा रहेकी सवनमले अँगालो मार्दा मुस्लिम र हिन्दू परिवारले एक दशकअघि बजाएको सद्भावको थपडी अहिलेसम्म गुन्जिरहेको छ । इदमा सामेल हुन गोमा छोरासहित एक दिनअघि नै सवनमको घर आएकी थिइन्। ‘मैले अघिल्लो रात दरको रूपमा सेवई खाएँ,’ उनले सुनाएकी थिइन् ‘ उनीहरूलाई तिजको गीत पनि सुनाएँ।’
मुस्लिम समुदायको पर्वमा सहभागी हुन पाउँदा त्यो बेला निकै खुसी लागेको गोमाले बुधबार सुनाइन्।
‘मलाई अस्ति जस्तो लागेको छ सवनमको अँगालोमा बाँधिएको,’ उनले भनिन्, ‘अहिले राजधानीमा बस्दा उनीहरूलाई औधी मिस गरिरहेको छु ।’
त्यतिबेला सवनमको परिवारले उनको हातमा मेहन्दी पनि लगाइदिएका थिए । ‘मायाको त्यो रंग मेरो मनमा अझै गढेको छ,’ उनले थपिन्, ‘हरेक वर्ष तिज र इदमा सवनमको परिवारको याद आइरहन्छ ।’
त्यतिबेला हिन्दू नारीलाई घरमा पाहुना बनाएर पर्व मनाउन पाएकोमा खातुन परिवार पनि निकै प्रसन्न थियो। ‘रातो कपडामा सजिएकी उनलाई मैले आफूजस्तै पाएँ,’ सवनमले सुनाएकी थिइन्, ‘यस्तो अवसर हामीले यसअघि पाएनौं।’
सवनम मात्र हैन उनका ससुरा जाहिर अन्सारीले आफू निकै खुसी भएको बताएका थिए, ‘हिन्दू र मुस्लिम समुदायबीच हामीले कहिल्यै भेदभाव गरेनौं,’ उनले सुनाएका थिए ।
लामो समयसम्म तराई क्षेत्रमा बसेर काम गर्दा मुस्लिम र हिन्दू परिवारमा सद्भावका निकै राम्रा दृश्यहरू देख्न पाइयो। कतै हज जान लागेका मुस्लिमलाई हिन्दू परिवारले सहयोग खर्च जुटाएको देखियो त कतै मुसलमानले हिन्दू मन्दिर बनाउँदै गरेको भेटियो।
संसारका अन्य कुनामा हिन्दू र मुस्लिमबिच विभेदका विभिन्न समाचार आउँदै गर्दा मैले तराईका ग्रामीण भेगमा भने मेलका थुप्रै समाचार पाएको थिएँ ।
कहिले होलीमा रंगिदै गरेका मुसलमान युवाको तस्बीर खिचे भने कहिले इदको सेवईमा रमाउँदै गरेका हिन्दू धर्मालम्बीको कथा लेखे।
वीरगन्ज छाडेर राजधानी आउँदा पनि मुस्लिम र हिन्दूको सद्भाव कायमै रहेको पाएँ । हरेक इद पर्वका दिन घन्टाघरस्थित जामे मस्जिद पुग्दा त्यहाँ गैरमुस्लिम धर्मालम्बीसमेत रमाएको पाए।
त्यस्तै करीब ४ वर्षअघि पेप्सीकोलाकी अस्मिता सिटौला रमजानको पूर्वसन्ध्यामा घन्टाघरस्थित नेपाली जामे मस्जिदमा प्रार्थना गर्दै थिइन्। अस्मितासँगै उनकी मामाकी छोरी सिर्जना ओली र अनु ओली पनि प्रार्थनामा थिए।
अस्मिता मस्जिदमा मात्र होइन, कहिले पशुपतिनाथ त कहिले बौद्ध स्तुपा पनि पुग्छिन्। कहिलेकाहीं त चर्च पनि धाउँंछिन्। त्यतिबेला नागरिकसँगको कुराकानीमा अस्मिताले सुनाएकी थिइन्, ‘म धार्मिक आस्थाका कारण यहाँ आएकी होइन तर जब म मन्दिर, मस्जिद, गुम्बा वा चर्चमा जान्छु मनमा शान्ति मिल्छ।’
पछिल्लो समय अस्मिताजस्तै नयाँ पुस्ता नेपालको विविधतामा रमाउन थालेको छ।
कतिपय व्यक्ति तथा समुदायले साम्प्रदायिकतालाई खलल पु¥याउने प्रयास गरिरहे पनि युवा पुस्ताले भने एक अर्काको धर्म, संस्कृतिलाई सम्मान गर्ने तथा सहभागिता जनाएर सद्भाव बाँड्ने काम गरिरहेका छन्।
एक अर्काको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दा आत्मीयता झाँगिने र समाज सकारात्मक दिशातर्फ अघि बढ्ने उनको विश्वास थियो।
त्यसैले होला काठमाडौं, चाबहिलका ८२ वर्षीय हसन खान पछिल्लो समय सामाजिक सद्भाव विगतको तुलनामा बढेको सुनाउँछ्न।
डेढ सय वर्ष पहिले भक्तपुरबाट चाबहिल सरेको उनको परिवार हिन्दू समुदायबीचमा सधैं खुसी देखिन्छ। ’दसंैमा हामी हिन्दूहरूसँगै रमाउँछौ,’ उनले भने, ’इदमा हिन्दू दाजुभाइ हामीसँगै रमाउँदै घरमा आएर इद खानुहुन्छ ।’
एक अर्काको धर्मलाई सम्मान गरेकाले दुवै समुदाय खुसी रहन सकेको उनको भनाइ छ।
त्यसैले आज इदको दिन हिन्दू धर्मालम्बी गोमा र मुस्लिम धर्मालम्बी सवनमको त्यो तस्बीर फेरि सम्झनामा आयोा । रातो कपडामा सजिएकी गोमालाई कालो पहिरनमा सजिएकी सवनमले अंगालो हालेको यो तस्बीर जहिले नियाल्दा पनि तिज र इदको सम्झना एकैपटक आउने गर्छ ।
