नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक हजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरेका छन्। बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा युथ भोलेन्टियर गठन भएको घोषणा गरेका हुन्। घोषित पिपल्स भोलेन्टियरको सचिवमा मनोज खत्री रहेका छन्। त्यस्तै यसलाई युवा संघ नेपालको तर्फबाट नेतृत्व गर्न सन्दीप राईलाई इन्चार्ज तोकिएको छ।
केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि माधवकुमार नेपाल समूहले पनि पिपल्स भोलेन्टियर ब्युँताएको हो। समूहले यसअघि नै अखिल फोर्स गठन गरिसकिएको छ।
कार्यक्रममा नेपाल समूहको युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीले नवगठित समूहले ओली समूहको युथ फोर्सले जस्तै अराजक, आपराधिक र अनुशासनहीन काम नगर्ने वचन दिए। गठित समूह सचेत युवाहरुको संगठन भएकाले अन्याय, अत्याचार, भ्रष्टाचार, विभेदविरुद्ध आँधीसरह खटिने दावी उनले गरे।
यसअघि पिपल्स भोलेन्टियरमा आवद्ध युवाहरुले मोटरसाइकल र्याली गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकस्थित कार्यक्रमस्थल थापा पार्टी प्यालेससम्म स्कर्टिङ गरेर ल्याएका थिए।
