सप्तरीसँग सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तरगत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ । आज बिहान सो स्थानमा तटबन्ध भत्किदा सुपौल र मधुवनी जिल्लाका बिभिन्न बस्तीहरु डुवानमा परेको छन् । तटबन्ध भत्किएको स्थान नेपाल भारत सिमा भन्दा ८ किलोमिटर मात्र दक्षिण हो । बाढीले दिघिया, दुधैला, बैला, सतोखर्ड लगायतका गाउँहरु जलमग्न भएको सिमावर्ती स्थानीय बासिन्दाले जानकारी दिए ।
बाढीका कारण एक हजार भन्दा बढी परिवार बिस्थापित भएका छन् । उनीहरु भारतीय राष्ट्रिय राजमार्ग (एनएच ५७) सहित बिभिन्न अग्लो स्थानमा आश्रय लिईरहेका छन् । सुपौल जिल्लाका डिएम महेन्द्रकुमारले तत्काल तटबन्ध पुर्ननिर्माणको कार्य थालिएको जानकारी दिनुभयो । उहाँले स्रोतसाधनको अधिक्तम प्रयोग गरि पुर्ननिर्माणको कार्य भईरहेको बताउनुभयो । कोसी तटबन्ध बिहारमा भत्किदा क्षतिलाई कम गर्न कोसी योजनाका अधिकारीहरुले सप्तरी र सुनसरीको सिमामा रहेको कोसी ब्यारेजका ढोकाहरु धेरै संख्यामा बन्द गरे नेपालमा पनि समस्या हुने सक्ने प्राबिधिकहरुले बताएका छन् ।
