देश र जनताको खातिर आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेका झापा मेचीनगरका सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् ।
दाताले नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका अधिकारी दम्पती वृद्धाअवस्थामै भए पनि आफ्नै नयाँ घरमा बस्न पाउने भएका हुन् ।
लोकतान्त्रिक गणतन्त्र प्राप्तीका लागि १७ वर्ष जेल जीवन बिताएका ७० वर्षीय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् ।
प्रजातन्त्र प्राप्तीको आन्दोलनका क्रममा अधिकारी बर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, वीरगञ्ज र काठमाडाैँका विभिन्न जेलमा बसेका अधिकारी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए ।
अधिकारीसंगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् । उनीहरूले ऐसआरम, सुख-सुविधा र विलासी जीवन व्यतीत गरिरहँदा यता सानो दुर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जिवन बिताउन विवश छन् ।
झापा क्षेत्र नं.१ का संघिय सांसद राम कार्की (पार्थ)ले आफ्नो क्षेत्र बिकास कोष मार्फत “आवाजविहीनहरुका लागि आवास” कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट अधिकारीको घर निर्माण कार्य अगाडि बढेको थियो ।
अधिकारीको घर निर्माणका लागि सांसद कार्की मार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीय बासी तथा श्रमदानबाट व्यवस्थापन गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले जानकारी दिए ।
झापाको मेचीनगर १० स्थित धुलाबारीमा नवनिर्मित भवनमा यहि साउन १४ गते अधिकारी दम्पतीलाई गृह प्रवेश गराउने कार्यक्रम तय भएको माओवादी केन्द्र मेचीनगर- १० का अध्यक्ष कृष्ण कौशलले जानकारी दिए ।
घर निर्माण भएसंगै बुढेसकालमा बस्नलाई सजिलो हुने सानो दुर्गा अधिकारीले बताए । ‘बस्नलाई घर बन्यो,’ अधिकारीले खुसी हुँदै भने, ‘अब राज्यका तर्फबाट सामान्य भरण-पोषणको व्यवस्था भए अरु केही चाहिँदैनथ्यो ।’
