काठमाडौं। सामान्य रुपमा तपाइँले विमान एयरपोर्टको रनवेमा ल्याण्ड गरेको देख्नुभएको होला । तर, एक किशोर पाइलटले भने विमानलाई गाडी दौडीरहेको सडकको बीचमा रहेको पुलमा अवतरण गराएका छन् ।अमेरिकामा १८ वर्षका पाइलटले आफूले उडाइरहेको विमानलाई व्यस्त सडकमा रहेको पुलमा आकस्मिक अवतरण गराएका छन् ।सीएनएनका अनुसार अमेरिकाको दक्षिणी न्यू जर्सीमा विमान उडाइरहेका पाइलट ल्याण्डन लुकासले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराउनु परेको थियो ।
आकस्मिक अवस्थामा उनले एक पुलमा विमान सफल रुपमा अवतरण गराए किनकि विमानलाई अन्यत्र लैजानको लागि उनीसँग पर्याप्त समय थिएन ।अधिकारीहरुका अनुसार यी पाइलटले न्यूजर्सीको एक पुलमा विमान अवतरण गराउँदा केहीबेर सडकमा यातायात अवरुद्ध भयो तर कसैलाई कुनै चोट लागेन ।
१८ वर्षका ल्याण्डन लुकासका अनुसार उनको विमानमा दिउँसो करिब साढे १२ बजे खराबी आएको थियो । त्यतिबेला लुकासले अटलान्टिक सिटीमा स्टिल पियर नजिकैको आकाशमा विमान उडाइरहेका थिए ।लुकासले ओसन सिटीमा नजिकैको नगरपालिका हवाइ अड्डामा विमान ल्याण्ड गराउने कोसिस गरिरहेका थिए तर यो सम्भव थिएन ।
