काठमाडौं : समाजवादी पार्टीले आफूलाई कानून विपरीत कारबाही गरी संसद् सदस्यबाट हटाएको भन्दै सरिता गिरीले दिएको निवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा आज गिरीको मात्रै मुद्दा तोकिएको छ।
समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यस विरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् । उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन्।
३० असारमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माले सरिता गिरीमाथि किन कारबाही गरिएको हो भन्ने कारण माग गर्दै अन्तरिम आदेश गर्ने वा नगर्ने छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय गरेका थिए। गिरीले यो रिटमा सर्वोच्च अदालतबाट तुरून्तै अन्तरिम आदेश जारी गर्न माग गरेकी छन्।
आज सर्वोच्च अदालतमा यसैबारेमा सुनुवाइ हुन लागेको हो। गिरीमाथिको कारबाही अन्तरिम आदेशले रोकिदिने वा अहिलेलाई अन्तरिम आदेश नदिने र मुद्दको किनारा लगाउँदा नै समाजवादी पार्टीको निर्णयको वैधता जाँच गर्ने भन्नेमध्ये सर्वोच्चले कुनै एक निर्णय दिनेछ।
सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा गिरी मतदान नगरी संसद् भवनबाट बाहिरिएकी थिइन्। त्यसपछि पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले छानबिन गरेर कारबाहीको निर्णय गरेको थियो।
