काठमाडौं – सरकारले असार २६ गतेदेखि नै सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ। केही व्यवसायीले गाडी चलाए पनि केही व्यवसायी गाडी चलाउन नसक्ने भनेर बसेका छन्।
आइतबार यातायात कार्यालयमा पुगेर सार्वजनिक यातायात केन्द्रीय महासंघका पदाधिकारी सार्वजनिक गाडी चलाउन तयार भएको बताएर फर्किए। उता केही व्यवसायी भने मजदुर घरघर गएकाले तत्काल चलाउन नसक्ने बताइरहेका छन्।
आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले सोमबारबाट सार्वजनिक सवारी सञ्चालन गर्ने बताएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
यता नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव बसन्त भण्डारी पूर्व तयारी नपुगेको भन्दै तत्काल सार्वजनिक सवारी साधन नचल्ने बताउँछन्। हाम्रा मजदुरसमेत आइपुग्नुपर्छ’, उपमहासचिव भण्डारीले भने अझै पूर्वतयारी आवश्यक भएकाले मंगलबार पत्रकार सम्मेलन गरेर मात्र यातायात सञ्चालन हुने वा नहुने जानकारी गराउँने छौँ।
सार्वजनिक यातायात केन्द्रीय महासंघले उठाएका माग मौद्रिक नीतिले समेटेको भन्दै सवारी साधन चलाउन तयार भएका हुन्। उता नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघले भने सवारी साधन मर्मत र मजदुरको समस्या देखाउँदै तत्काल नचलाउने अडान अझै राखेको छ।
उपमहासचिव भण्डारीका अनुसार साउन ६ गते पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक सवारी साधन चल्ने जानकारी गराउने बताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि २०७६ चैत ११ गतेदेखि भएको लकडाउनका कारण तीन महिनादेखि सवारी साधन चल्न सकेका छैनन्। सरकारले सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको हो।
केही व्यवसायीले भने सरकारले निर्णय गरे लगत्तै सार्वजनिक सवारी साधन चलाउन थालिसकेका छन् ।
