काठमाडौं – वीरगञ्जमा एक जना कोरोना संक्रमित व्यक्तिको निधन भएको छ। वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय एक व्यक्तिको निधन भएको गण्डक कोभिड अस्पतालले पुष्टि गरेको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
साउन ५ गते सोमबार एडभान्स अस्पतालमा भर्ना भएका ती व्यक्तिमा श्वासप्रश्वासको समस्या थियो। शंकास्पद कोरोना संक्रमितको रुपमा उनलाई सोही दिन नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। सोमबार दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ।
मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। उनको मृत्यु कोरोना संक्रमणबाट भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले पुष्टि गरेका छन्।
सिंहका अनुसार शंकास्पद संक्रमितको रुपमा गण्डक अस्पतालमा अक्सिजन दिएर उपचार गरिरहँदा उनको मृत्यु भएको थियो।
ती वृद्धमा अन्य कुनै स्वास्थ्य समस्या नभएको, ट्राभल हिस्ट्री पनि केही नभएको र मृत्यु कोरोना संक्रमणकै कारण भएको डाक्टर सिंहले बताए।
