संखुवासभा – जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दाका पहिरोपीडितलाई धमाधम राहत संकलन भइरहेको छ। बेसिन्दा पहिरोबाट विस्थापित भएका १०४ घर परिवारका ३ सय ३९ जनाको लागि आवास तथा खाद्यान्न व्यवस्थापनको लागि राहत संकलनको काम धमाधम भइरहेको हो। पहिरोपीडितहरूका लागि सिलिचोङ समन्वय समिति काठमाडौंले अहिलेसम्म ५ लाख भन्दा बढी रकम सङ्कलन गरिसकेको सिलिचोङ समन्वय समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिए। समितिले सामाजिक सञ्जालबाटै आह्वान गरेर बैंक खातामा राहत रकम संकलन गरिहेको बताए।
त्यस्तै, कुलुङ संघ संखुवासभाले अहिलेसम्म राहत कोषमा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको जनाएको छ। सिलिचोङका विभिन्न संघ संस्थाले सदरमुकाम खाँदबारीमा घरदैलो कार्यक्रम गरेर पनि राहत संकलन गरेको छ। बेसिन्दा पहिरोपीडितका लागि जिल्लाबाहिर पनि सिलिचोङ घर भई हाल विभिन्न देशमा बसोबास गर्न सिलिचोङबासीले पनि सामाजिक सञ्जालमा आह्वान गरेपछि ३ लाख रकम संकलन गरेको जनाएको छ। पहिरोपीडितका जिल्ला बाहिर काठमाडौं दक्षिण कोरिया, अमेरिका, बेलायत लगायतका देशहरुमा राहत सहयोग संकलन भइरहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए।
राहतमा संकलनमा अहिले कुलुङ संघ संखुवासभा, सिलिचोङ समन्वय समिति काठमाडौं, सिलिचोङ काठ्माण्डौ समन्वय समिति काठ्माण्डौ र सिर्जनशील सामुदायिक विकास केन्द्र संखुवासभाले राहत संकलन गरिरहेको उनले बताए। राहत संकलन अभियान्ताहरुले बैंक खाता खोलेर उक्त खातामा रकम जम्मा गर्दै आएका छन्।
कुलुङ संघ सङ्खुवासभाका अनुसार हालसम्म आफूहरूको राहत कोषमा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गरिसकेको जनाएको छ। पहिरोपीडितका लागि जिल्लाका विभिन्न संस्थाले राहत रकम र खाद्यान्नसमेत उपलब्ध गराइरहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए।
