रौतहट – रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित वागमती नदीले १२ नम्वर स्परको बीच भागमा ५० मिटरसम्म कटान गरेर ठूलो क्षति पुर्याएको छ । उच्च पहाडी, चुरे क्षेत्रसहित तराईमा निरन्तर रुपमा भईरहेको बर्षाबाट वाग्मती नदीले धार परिवर्तन गरेर बगेपछि बाँध र पानीको धारलाई अन्यत्र परिवर्तन गर्न बनाईएको स्परमा क्षति भैरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपार र ३ मत्सरी नजिक रहेको वाग्मती नदीको धारले बाँध छेउमा स्पर कटान गरिरहेको हो । नदीले बाँधको वेड सतहसहित ५० मिटर बाँध काटिसकेको छ भने बाँधलाई सुरक्षित राख्नका लागि बनाइएको १२ नम्वर स्परको बीच भागमा पनि ५० मिटरभन्दा बढी कटान गरिसकेको छ ।
बाँध र स्परलाई बचाउन युद्धस्तरमा नियन्त्रणको प्रयास गर्नुपर्ने अवस्थामा भएपनि नदी नियन्त्रण कार्यालयबाट भने बालुवाको बोरो र जाली राख्ने काम भइरहेको छ । बाँध भत्किएमा दुर्गा भगवतीको वडा नम्वर १, ३ र ४ सहित अन्य पालिकाका बासिन्दाहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुने अवस्था छ ।
