गायक प्रकाश सपूत – को निर्देशनमा गत शनिबार सार्वजनिक नयाँ लोकगीत ‘बदला बरी लै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।
प्रकाशकै शब्द र संगीतमा बनेको ‘बदला बरी लै’ देवी घर्तीले गाएकी हुन्। भिडिओमा अभिनेत्री केकी अधिकारीको अभिनय छ। देवेन्द्र बब्लु यसका कन्सेप्ट र क्रियटिभ निर्देशक हुन्।
बलात्कारजस्तो संवेदनशील विषयमा बनेको यो गीतको भिडिओ गायिका बन्ने सपना बोकेकी एक महिलाको कथा छ। ‘ठूलाबडा’ भनाउँदाबाट बलात्कृत भई अन्ततः उनी मारिन्छिन्। समाजमा घटिरहेको बलात्कारका घटना र फितलो कानुनमाथि गीतले प्रश्न उठाएको छ।
नेपाली समाजको न्याय प्रणालीलाई व्यङ्ग्य हान्दै गीतको शब्दले भन्छ- खुलेन कहिल्यै न्यायको ढोका बरी लै, गरिबको छातीले।
ठूल्ठूला मान्छेसँग ‘संगत छ’ भन्ने र महिलालाई ‘खेलौना’ देख्ने बलात्कारीहरू समाजमा खुला घुमिरहेका छन्। पीडितले न्याय नपाउने भएपछि उनी मर्दा शान्ति नपाएर ‘भूत’ बनेर आफ्नो बदला लिएको कथा भिडिओमा देखाइएको छ।
‘समाजमा बढ्दै गएको बलात्कारको विषयलाई यो भिडिओ मार्फत देखाउन कोशिस गरेका छौं,’ निर्देशक प्रकाश सपूतले भनेका छन्।
