अगस्तको पहिलो साता- सुत्केरी आमा र शिशुका लागि विशेष साता अर्थात् विश्व स्तनपान सप्ताह। मातृप्रेम र शैशवकालको आत्मीय आलिंगन थप कसिलो बनाउने विस्मृतिको साता यस वर्ष कोरोना कहरले लपेटियो। जीवनका रहरलाग्दा खुट्किलामा पाइला उचाल्दै गरेका अबोध शिशुको ओठमा लालीत्व छर्न पाएको छैन। आमाको मुहारमा तनावको रङ पोतिएको छ। कोरोना पीडाको पहाडले थिचिरहेको छ। कति नवजात शिशु र सुत्केरी आमाहरू महामारीको संक्रमणसँगको लडाइँमा पराजित भएका छन्।
अस्पतालाको शैयादेखि बंगलाको बेडसम्मका आमा संक्रमित छन्। आमाको आत्मीय काखमा लोलाउने शिशु प्रभावित हुने भइहाले। त्यसैले विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताएको छ- एक लाख ५० हजारमा १५ हजार नौ सय अनुपातमा आमालाई कोरोनाले गाँजेको छ। अनि तीन हजार तीन सय नवजात शिशुमाथि खनिएको छ। कोरोना महामारीले शिशु मृत्युदर त बढाएको छ नै, आमामा थप्ने तनावले थप जटिलता निम्ता गरिरहेको हुन्छ।
कोरोना नेपाल प्रवेशसँगै सुत्केरी आमा र नवजात शिशुलाई समात्यो। निर्दयी कोरोनाले नेपालमा जीवन लिएको पहिलो व्यक्ति नै सुत्केरी आमा परिन्। कोरोना संक्रमितको ग्राफ जति उकालिन्छ, स्तनपान गराइरहेका आमा र नवजात शिशुको संख्या पनि थपिन्छ। त्यसैले त झन्डै २० हजार संक्रमित हुँदा एक सय ५९ भन्दा बढ्ता स्तनपान गराइरहेका आमालाई लपेटेको कोरोनाले ३३ जनाभन्दा बढ्ता नवजात शिशु पनि छाडेन। अर्थात् गर्भवती, सुत्केरी आमा र नवजात शिशु जोखिमको उच्च ग्राफमा छन्।
कोरोना नभइदिँदा पनि अभावले निम्त्याएको रोग र शोकले विश्वमा बर्सेनि आठ लाख २० हजार शिशुले जीवनरेखा लम्ब्याउन पाउँदैनन्। राष्ट्रसंघका पूर्वआर्थिक सल्लाहकार जेफ्री साचले ‘द इन्ड अफ पोबर्टी’ मा लेखेका पनि छन्, ‘हरेक बिहानीसँगै कम्तीमा २० हजार मानिस चरम गरिबीमा ओर्लिन्छन्। अनि आठ हजार बालबालिका मलेरियाकै कारण जीवन सिध्याउँछन्। क्षयरोगको उपचार नपाएर पाँच हजार आमाबाबुको जीवन समाप्त हुन्छ।’
चरम गरिबी र स्वास्थ्यको सहज पहुँचको अभावसँग पौठेजोरी खेलिरहेका यी आमाले शिशुलाई व्यवस्थित स्तनपान गराउन कसरी सम्भव होला ? जन्मिएको ६ महिनासम्म आमाको दूध मात्रै पिलाउन सकिएला र ? अन्य खानासँगै दुई वर्षसम्म आमाको दूध पिलाउने ज्ञान र सुझाव ती निरीह आमाले कसरी मानिदिने ? शिुशुको पेट भर्ने दूधका लागि आमाको स्तन टम्म हुनुपर्ला। स्तन टम्म हुन आमाले पौष्टिक तत्वसहितको सन्तुलित भोजन खानुपर्ला। साँझ-बिहान हातमुख जोर्नै धौधौको जीवन गुजार्ने ती आमाको कथा सुन्दा मात्रै ऐंठन हुन्छ।
पीडाको पोखरीमा पौडिरहेका आमालाई शिशुका लागि स्तनपान वरदान हो भन्ने थाहा नभएको होइन। तर जीवन गुजार्ने बाध्यताको लडार्इँमा हारिरहेका छन्। अनि आफू र शिशुको ख्याउटे जीवन जिइरहेका छन्। दुःखको पहाडसँगै आइदिएको कोरोनो संक्रमणले स्वभावैले थप आमा र शिशुको जीवन लिनेछ। जसको पीडामा मलम लगाउन राज्यले स्वास्थ्यको सहज पहुँच मात्र होइन, पेट भर्ने अन्नको जोहो गरिदिनुपर्नेछ।
फेरिँदो जीवनशैली र आधुनिकताको आवरणमा बजारी आमा सुन्दरताको भ्रमपूर्ण लोभमा शिशुको स्तनपानको अधिकार बेलैमा वञ्चित गराइरहेका छन्। आमाको दूधले शिशुको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। आमाको सुन्दरताका निखार ल्याउँछ भनेर ज्ञान आधुनिकतामा रमाउने आमालाई नभएको होइन। तैपनि किन यस्तो भइरहेछ ? आमाको दूध कम्तीमा दुई वर्षसम्म खान पाउने शिशुको अधिकार हो। यति बुझाउन छुट्टै प्रोजेक्ट त पक्कै चाहिँदैन तर साक्षर भएर पनि सचेतनाको अभाव भएका आमालाई सम्झाउनैपर्ने छ। विश्व स्वास्थ्य संगठन बोलिरहेकै छ— स्तनपानको नसुध्रिएको शैलीले अबोध शिशु धरतीमा लामो जीवन जिउने मौकाबाट वञ्चित भइरहेका छन्।
बच्चा जन्मेको एक घन्टामा स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्रै छ। घट्दो ग्राफमा आमा, अस्पताल मात्र पक्कै कारण होइन। निरन्तर ६ महिना पूर्ण स्तपान गराउने आमा ६६ प्रतिशतमा सीमित नहुनुपर्ने थियो। आमाहरू ज्ञानी बन्दै गए, सूचित पनि भए तर बच्चालाई स्तनपान गराउने सद्बुद्धिमा किन ओरालो लाग्दै छ ? नपत्याए हेर्नुहोस् त, आजभन्दा नौ वर्षअघि सन् २०११ मा ६ महिना पूर्ण स्तनपान गराउने आमा ७० प्रतिशत थिए। अब कोरोनाको जोखिमले झन् ओरोलो लाग्ने संकेत देखिन्छ। यसो भइदिए अर्को दुःखद विडम्बना हुनेछ।
अनुसन्धानले आमाको दूधबाट शिशुमा कोरोना सरेको पुष्टि गरेको छैन। तर आमा र शिशुको सम्पर्क माध्यम, खोकाइ, हाछ्युँ गराइ सरुवाको राजमार्ग भइदिन सक्छ। जसको भयले स्तनपानमा नकारात्मक सोचाइ आइदिन सक्छ। त्यसो भइदियो भने शिशु झनै कमजोर भइदिन्छ। आमाको दूधबाट ग्रहण गर्ने रोग प्रतिरोधात्मक क्षमता जति बढ्ता अन्य अनाजमा हुँदैन। आमाको दूधभन्दा अनाजमा जोड दिए उमेरअनुसार तौल र मस्तिष्क विकास प्रभावित हुनेछ।
आमालाई कोरोना भइहालेमा झन् हिफाजती तौरतरिका अपनाउनुपर्ने छ। स्तनपान गराउँदा श्वासप्रश्वास प्रणालीमा सरसफाइ मात्र होइन, थप सावधानी चाहिन्छ, ताकि कोराना संक्रमणबाट शिशुलाई जोगाउन सकियोस्। श्वास फेर्न गाह्रो भएमा वा अरू लक्षण देखिए मास्क लगाउने। शिशुलाई छुनुअगाडि राम्रोसँग कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले हात धुँदा आमा र शिशु दुवैलाई फाइदा पुग्छ। कदाचित आमाले स्तनपान गराउन अफ्ठ्रो भए आमाको दूध निचोरेर सुरक्षित संरक्षण विधिबाट शिशुलाई खुवाउनुपर्छ। आमा स्तनपान गराउनै नसक्ने भइदिए कुनै अर्को स्वस्थ आमाबाट पनि स्तनपान गराउन सकिन्छ तर आफ्नो संस्कृति र परम्पराबाट स्वीकार्य भने हुनुपर्छ। त्यसो नभए अरू वैकल्पिक विधि पनि अँगाल्न सकिन्छ। जब आमा स्वस्थ हुन्छिन् अनि स्तनपान गराइहाल्ने। आमा र शिशु दुवैको स्वास्थ्यमा जसले योगदान गर्छ; स्तनपानले संक्रमणबाट शिशुलाई बचाउन मात्र सकिँदैन शिशु मृत्युदर पनि घटाउँछ।
अन्तर्राष्टिय श्रम संगठनको भनाइमा कोरोना महामारीकै कारण झन्डै एक अर्ब व्यक्ति रोजगार जटिलतामा फस्नेछन्। त्यसमा पनि एसिया क्षेत्र बढ्ता प्रभावित हुनेछ। रोजगारमा हुने कटौतीले सिर्जना गर्ने गरिबी, अभावको जीवनमा आमा र शिशुको सन्तुलित भोजनमा असन्तुलन आउनेछ। र, आमा र शिशुकै स्वस्थ जीवनमा जटिलता पैदा हुनेछ। यही बीचमा पनि विश्वभरको स्वास्थ्य आपत्कालीन घोषणाले विश्वमै स्तनपानमा नकारात्मक असर पार्यो।
स्तनपानमा आउने नकारात्मक असर देखिनु भनेको पाँच वर्षमुनिका बालबालिका कुपोषणतिर लाग्नु हो। त्यसैले त, युनिसेफले भनिदियो— दक्षिण एसियामा मात्रै ३९ लाख शिशु कुपोषित हुन सक्छन्। तथापि, शिशुले जन्मेको ६ महिना पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो। आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ। परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित मात्र होइन, स्तनपानलाई प्रोत्साहित पनि गरौं।
