काठमाडौं, ११ पुस ।नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद बिघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै संविधानको कुनै पनि धारामा संसद बिघटनको कुरा उल्लेख नभएको तर्क गर्नुभयो । रावलले आफू वरिपरिका बस्नेहरुले काम गर्न दिईएन भन्नुपनि गलत भएको टिप्पणी गर्दै निजगढ, पोखरा, भैरहवा विमानस्थल लगाएतका आयोजना निर्माणमा कुनै अवरोध नभएको बताउनुभयो । रावलले पार्टीको पुष १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताउनुभयो । भदौ २६ गतेनेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि उक्त सहमतिमा अध्यक्षद्धय ओली र दाहालको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओली पछि हटेको पनि रावलको भनाई छ ।
नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गर्नुभयो । उहाले संसद विघटनको विरोधमा अदालतमा मुद्दा परेको सुनाउँदै यसमा अदालतले संविधानको सम्मान गर्नेमा आफूहरु विश्वस्त रहेको पनि जिकिर गर्नुभयो ।
