स्कटल्यान्डका ब्याट्सम्यान केल कोइट्जरले ‘आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्ड जितेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोइट्जरले अवार्ड जितेको आइतबार घोषणा गरेको हो।
कोइट्जरले नेपालका पूर्वकप्तान अलराउन्डर पारस खड्कासहित चार जनालाई पछि पार्दै अवार्ड जितेका हुन्।
गत मंसिर ९ गते आइसिसीले दशककै उत्कृष्ट एसोसिएट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो।
सो मनोनयनमा पारससँगै स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइट्जर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला परेका थिए।
अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्न आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको थियो।
उक्त भोटिङमा कोइट्जरले नेपालका पारससहित चार खेलाडीलाई पछि पार्न सफल भए।
आइसिसीले स्कटल्यान्डकै कार्थिन ब्रेसलाई आइसिसी वुमेन्स एसोसिएट प्लेयर अफ दि डिकेडको अवार्ड दिने भएको छ।
आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ।
यो वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी(महिला तथा पुरुष), दशकको एसोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार दिनेछ।
यस्तै टिम अफ दि डिकेड पनि सार्वजनिक गरिनेछ।
