सरकारले कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा भित्रिएको छ/छैन पत्ता लगाउन काम अघि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले युरोपमा देखिएको कोरोनाको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको हुनसक्ने भन्दै पत्ता लगाउन काम अघि बढाइएको जानकारी दिए।
उनले त्यसका लागि बेलायतबाट आउने व्यक्तिहरूको परीक्षण गर्ने काम भइरहेको बताए।
‘पुस ७ गतेसम्म बेलायतबाट नेपाल आउने ३ सय ७७ जना छन्। उनीहरूको परीक्षण भइरहेको छ। कसैको पोजेटिभ देखिए नयाँ भाइरस हो/होइन भनेर पत्ता लगाउन ‘जिन सिक्वेन्सिङ’ गर्छौं,’ उनले भने।
सह-प्रवक्ता अधिकारीले अहिलेसम्म परीक्षण भएकामध्ये कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको बताए। बेलायतमा नयाँ प्रजातिको कोरोना देखा परेको पाइएपछि सरकारले पुस १ देखि ७ गतेसम्म बेलायतबाट आउने मानिसलाई अनिवार्य ‘होटल क्वारेन्टिन’ मा बस्न अपिल गरेको थियो। साथै नजिकका सरकारी प्रयोगशालामा गएर परीक्षण गराउन पनि भनेको थियो।
अब परीक्षण गराएकामध्ये पोजेटिभ आएकाहरूको ‘जिन सिक्वेन्सिङ’ गर्ने मन्त्रालयले तयारी गरेको छ। उक्त प्रविधिबाट भाइरसमा के-के फरक छ भनेर पत्ता लगाइन्छ। ‘जिन सिक्वेन्सिङ’ पिसिआर मेसिनबाटै गर्न सकिए पनि त्यसका लागि छुट्टै ‘रिएजेन्ट’ चाहिन्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी डा. राजेशकुमार गुप्ताले अहिले ‘जिन सिक्वेन्सिङ’ का लागि चाहिने ‘रिएजेन्ट’ नभएको र भएको अवस्थामा यहीँको जनशक्तिले उक्त काम गर्न सक्ने बताए।
उनले अहिले बेलायतबाट आउने यात्रुहरूको परीक्षण भइरहेको र परीक्षण गरिएकामध्ये कसैमा संक्रमण देखिए मन्त्रालयको समन्वयमा ‘जिन सिक्वेन्सिङ’ का लागि काम अघि बढाइने जनाए।
