बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भने, “कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं ।” बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ । –एएफपी
