नेकपा एमाले दैलेख जिल्ला कमिटीले नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ । एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका हुन् । केन्द्रीय कमिटी बैठकले एमालेका सम्पूर्ण संरचना जेठ २ गतेको अवस्थामा फर्काएको भन्दै योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, ‘भदौ १० गतेको केन्द्रीय कमिटी बैठकले मातहतका सबै कमिटीहरु २०७५ जेठ २ गते पूर्व कायम गर्ने निर्णय भए बमोजिम हाम्रो पार्टीको मिति २०७८ साल भदौ १७ गतेको जिल्ला कमिटी सचिवालय बैठकले उक्त निर्णय लागू गर्ने र २०७५ साल जेठ २ गतेदेखि हालसम्मका नेकपाकालीन थप जिम्मेवारीलाई सम्बोधन गर्ने गरी अन्तरपार्टी निर्देशन अनुसार तपाईलाई विगतको जिम्मेवारी कायम गरिएको छ ।’

