पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइका प्रमुख काबुल पुगेका छन् र उनको एउटा तस्बिर मज्जाले भाइरल भइरहेको छ । इन्टर सर्भिसेज इन्टिलिजेन्स (आइएसआइ) का प्रमुख लेफ्टिनेन्ट जनरल फैज हामिद शनिबार तालिबान नेतालाई भेट्न काबुल पुगे
।आइएसआइ प्रमुखको यो यात्रालाई सम्भवतः गोप्य राख्न खोजिएको थियो तर एक तस्बिरका कारण यो सार्वजनिक भयो । आइएसआइ प्रमुख अफगानिस्तानका लागि पाकिस्तानी राजदूत मंसूर अहमद खान र अन्य अधिकारीसँग काबुलको एउटा होटलमा
चिया पिइरहेका बेला एक पत्रकारले उनीहरुको तस्बिर खिचेका थिए । त्यसपछि यो गोप्य भेटघाट सार्वजनिक भएको हो ।
जनरल फैज हामिद आफगानिस्तानमा सरकार बनाउनका लागि चलिरहेको रस्साकस्सीबीच त्यहाँ पुगेका हुन् । त्यहाँ हालसम्म सरकारमा कसको के हैसियत हुन्छ भन्नेबारे सहमति स्थापित हुन सकेको छैन । पछिल्ला तनावपूर्ण केही हप्तामा जनरल हामिदको
यो दोस्रो काबुल यात्रा भएको धेरैले दाबी गरेका छन् । मिडिया रिपोर्ट अनुसार अघिल्लो हप्ता सीआइएका निर्देशक विलियम बर्न्स पनि तालिबान नेता अब्दुल गनी बरादरसँग भेटघाट गर्न काबुल पुगेका थिए ।
पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले शुक्रबार एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘तालिबान काबुलमा नयाँ वास्तविकता थियो र उनीहरुसँग काम गर्नेबाहेक पाकिस्तानसँग कुनै अर्को विकल्प थिएन ।’ तालिबानको शासन व्यवस्थाबारे संसारभरी
विभिन्न अड्कलबाजी र शंका–आशंकाको माहौल छ तर यी सबका बीच अफगानिस्तानमा मानवीय संगठनका लागि एक सुरक्षित वातावरण प्रदान गर्नु पनि एउटा ठूलो चुनौती हो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसलाई अफगानिस्तानमा संयुक्त राष्ट्रको मानवीय कार्यलाई जारी राख्नका लागि पाकिस्तानको समर्थनको आश्वासन दिएका छन् । इमरान खान र संयुक्त राष्ट्र महासचिवबीच भएको
टेलिफोन वार्ताको कुराकानीको एउटा अंशमा भनिएको छ– प्रधानमन्त्रीले अफगानिस्तानका लागि संयुक्त राष्ट्रको मिसनलाई सही ढङ्गमा सञ्चालनका लागि पाकिस्तानको समर्थनको पुष्टि गरेका छन् ।
यसका साथै, शुक्रबार कतारमा तालिबानको राजनीतिक कार्यालयका उप–प्रमुख शेर मोहम्मद अब्बास स्टनकजईले कतारमा पाकिस्तानका राजदूत सैय्यद अहसान रजा शाहसँग भेटघाट गरेका थिए । कतार कार्यालयमा तालिवानका प्रवक्ता सुहैल शाहीनले
ट्वीट गरेका थिए, ‘दुबै पक्षले हालको अफगान स्थिति, मानवीय सहायता, आपसी हित र सम्मानमा आधारित द्वीपक्षीय सम्बन्ध, अफगानिस्तानमा पुनर्निर्माण र तोरखम र स्पिन बोल्डकमा मानिसहरुको आन्दोलनसँग जोडिएका मुद्दाबारे चर्चा भयो ।’
अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि थुप्रै मानवीय सहायता एजेन्सी त्यहाँबाट फिर्ता भएका छन् जसका कारण अफगानिस्तानमा ठूलो मानवीय संकट पैदा हुने आशंका बढेको छ ।
