काठमाडौंँ । चलचित्रकर्ममा २५ बर्ष भन्दा बढि बिताएका कलाकर्मीलाई सरकारले सम्मान स्वरुप पेन्सन (निवृत्तभरण)को व्यवस्था गर्नुपर्ने माग चलचित्रकर्मीहरुले राखेका छन् ।
बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेट, सरकारको नीति तथा कार्यक्रमका लागि चलचित्र क्षेत्रलाई समेट्न के कस्तो कार्यक्रम ल्याउनु पर्ने सुझाव संकल गर्न आयोजित एक कार्यक्रममा कलाकर्मीले सो माग राखेका हुन् ।
नेपाली चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी सुझाव संकलन अन्तक्र्रिया कार्यक्रममा सञ्चार मन्त्री पार्बत गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, मन्त्रालयका सचिव हरि बस्याल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र संघका अध्यक्ष मदुसुदन प्रधान, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, समाजका महासचिव जनकदीप पराजुली, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र उपकरण व्यवसायी संघका महासचिव केशव घिमिरेसहित चलचित्रकर्मीहरु गोपालकाजी कायस्थ, सुनिल थापा, मोहन निरौला, नवल खड्का, गोपाल ढकाल छन्दे, रेजिना उप्रेती, पवित्रा आचार्य ललगायतको सहभागीता रहेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको पहलमा उक्त अन्र्तक्रिया कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा सबै संघ–संस्थाका प्रतिनिधिहरुले विभिन्न सुझावहरु दिएका छन् ।
सो अवसरमा मन्त्री गुरुङले कलाकर्मीबाट प्राप्त सुझाव कार्यन्वयनमा पहल गर्ने बताए ।
