“१४ वर्षदेखि काठमाडौंमा व्यवसाय गरिरहेको छु । गोंगबुमा स्टेशनरी पसल छ । २०६४ सालदेखि व्यवसाय गर्दा मैले सहकारी संस्थाहरूले कसरी बद्मासी गर्छन् भन्ने राम्रो जानकारी पाएको छु ।
गोंगबुको हलमार्ग बचत तथा ऋण सहकारी संस्थाले धेरैलाई समस्यामा पार्यो । मेरो आफ्नै रकम पनि निकाल्न निकै समस्या भयो । मेरो त ठूलो रकम होइन तर साथीभाइ धेरै जनाको करोडौं रुपैयाँ यो सहकारीले फिर्ता दिएको छैन ।
सहकारीले जनताको सम्पत्ति लिने र जग्गामा वा अन्यत्र मनपरी लगानी गर्ने गरेर समस्यामा पर्ने रहेछन् । हलमार्क एउटा उदाहरण मात्रै हो, अहिले सहकारीले धेरैलाई दुःख दिइरहेका छन् ।
मेरो पसलमा पनि ५/६ वर्ष पहिले सहकारी संस्थाका प्रतिनिधि आएर खाता खोल्न आग्रह गरे । ती कर्मचारीले बचत गर्नुभयो भने राम्रो ब्याज दिने, समयमा पैसा दिने मात्रै होइन चाहिएको बेला सहज तरिकाले ऋण पनि दिने भनेर मीठो कुरा गरे ।
अझ, उनले त तपाईंले खाता खोलिदिंदा मेरो जागिर बच्छ पनि भने । विचरा उनीहरूको जागिरको कुरा पनि छ आफूले पनि विना धितो सहज तरिकाले चाहिएका बेला ऋण पाइन्छ भने ठीकै छ नि त भनेर खाता खोल्न मन लाग्यो ।
यसरी म सहकारी संस्थामा खाता खोल्न पुगें । सहकारीका प्रतिनिधि निक्षेप लिन सधैं पसलमै आउने । आफ्नो क्षमता अनुसार थोरबहुत रकम जम्मा गर्दै गएँ । लकडाउनले मलाई समस्यामा पार्यो । दुःखले दिन कटाएँ ।
लकडाउन खुलेपछि मैले गोंगबु गणेशस्थान भन्दा केही पर पसल सारें । अब व्यापार बढाउन थप रकम लगानी गर्नुपर्छ भन्ने लाग्यो । अनि सहकारी संस्थाका कर्मचारीलाई गएर भेट्छु र आफूलाई चाहिएको रकम बारे जानकारी गराउँछु भन्ने सोचेर म संस्थाको कार्यालयमा गएँ ।
जब म संस्थाको कार्यालयमा पुगें, त्यहाँ त मैले सोचेको भन्दा अर्कै अवस्था थियो । मेरो थोरै रकम मात्रै बचत रहेकाले म बचत फिर्ता होइन बरु ऋण लिन्छु भनेर गएको थिएँ । तर त्यहाँ त निक्षेप फिर्ता लिनेहरूको लाइन नै लागेको थियो । बुझ्दै जाँदा थाहा भयो संस्था त निकै समस्यामा परिसकेको रहेछ ।
सर्वसाधारणले आफूले राखेको निक्षेप समेत नपाउने अवस्था सिर्जना भएको देखेर म अचम्ममा परें । पैसा फिर्ता माग्न त्यहाँ पुगेकाहरूसँग कुरा भयो । वडा कार्यालयमा गएर पैसा फिर्ताका लागि उजुरी हाल्ने कुरा भयो । किनकि हामी लाइन लागेर मात्रै सहकारीले पैसा दिन सक्ने अवस्था थिएन ।
वडा कार्यालयमा गएपछि थाहा भयो कि सहकारीले जग्गामा लगानी गरेको रहेछ । त्यो जग्गा पनि मुद्दा परेर बिक्री गरिहाल्न मिल्ने अवस्थामा रहेनछ । अब हामीले के गरी न्याय पाउने भनेर सल्लाह गर्यौं । त्यहाँ सहकारी संस्थाहरूको संघमा गएर उजुरी हाल्नु वा बिजुलीबजारमा काठमाडौं महानगरपालिकाको सहकारी विभाग छ त्यहाँ गएर उजुरी हाल्नु भन्ने सुझाव आयो ।
यो पनि पढ्नुहोस
टाठाबाठाको ‘सिण्डिकेट’ भयो सहकारी : सर्वसाधारण लुटिने क्रम बढ्दै
हामीले नेफ्स्कुन भन्ने संघमा गएर बुझ्यौं । त्यो सहकारी त्यहाँ आवद्ध नै रहेनछ । अनि कहाँ जाने भन्दा बिजुलीबजारको सहकारी विभागमा जाने सल्लाह भयो । अर्को साथीको ६ लाख रुपैयाँ भन्दा धेरै रकम लिन बाँकी थियो । उहाँसँग म सहकारी विभागसम्म पुगें । हामीले त्यहाँ गएर उजुरी गर्यौं ।
सहकारी विभागले पनि पैसा असुल उपर गर्न प्रहरीसम्म पुग्नुपर्ने सुझाव दियो । विभागकै सल्लाह अनुसार हामी महानगरीय प्रहरी प्रभाग टेकू गयौं । विभागले प्रहरीलाई चिठी समेत लेखेको थियो । कसैको ६/७ त कोहीको १२/१३ लाख रुपैयाँ डुबेको थियो । सबैको गर्दा ३/४ करोड रुपैयाँ भन्दा बढी नै सहकारीले दिनुपर्ने थियो ।
६ लाख रुपैयाँ पैसा फिर्ता नपाउने साथी र म टेकू पुगेर जाहेरी दियौं । प्रहरीले कारबाही अघि बढ्छ भनेको थियो । त्यसअघि हामीले एउटा टेलिभिजनमा गएर सहकारीको बद्मासी बारे प्रसारण गरिदिनुपर्यो भनेर आग्रह पनि गर्यौं । हामीले उजुरी दिएपछि प्रहरीले सहकारीका मुख्य मान्छेहरूलाई पक्राउ गरेको छ भन्ने सुनेका छौं तर हामीलाई केही खबर आएको छैन ।
सहकारीले कर्मचारी नियुक्त गर्दा ‘यति जना सदस्य बनाइस् भने जागिर पक्का’ भन्ने रहेछन् । अनि कर्मचारीले चाहिने नचाहिने कुरा गरेर पैसा जम्मा गर्ने गर्दा रहेछन् । त्यसैले विश्वास नभई सहकारीमा खाता खोलिहाल्दा समस्या हुने रहेछ
सहकारीको सामन्ती व्यवहार
पहिले गाउँमा शोषक सामन्तहरू हुन्छन् भन्थे । साहु-महाजनहरूबाट गरीब किसानले महँगो ब्याजदरमा रकम लिनुपर्ने बाध्यता हुन्थ्यो रे ! अहिले गाउँका शोषक भन्दा डरलाग्दा भएका छन् सहकारी संस्थाहरू । हिजोका सामन्तको व्यवहार आज सहकारी संस्थाले गर्छन् । ब्याजदर एकदमै चर्को ।
सरकारले १६ प्रतिशत भन्दा बढी ब्याजदर नलिनु भने पनि टेर्दैनन् । भन्नलाई १६ प्रतिशत भने पनि सबै जोडेर ३६ प्रतिशतसम्म पुर्याउँछन् । सेवा शुल्क, फिल्ड शुल्क विभिन्न शीर्षकमा शुल्क लिन्छन् । ऋणको ६ महीना अवधि हुन्छ । ६ महीनापछि नवीकरण गर भनेर महँगो शुल्क लिने रहेछन् ।
बैंकहरूले सस्तो ब्याजदरमा रकम दिन्छन् । यसरी डुब्ने समस्या पनि हुँदैन । बैंकले सस्तोमा दिन्छ भनेर के गर्नु बैंकसम्म सामान्य नागरिकको पहुँच नै पुग्दैन । पुगिहाले पनि विभिन्न प्रक्रियागत झन्झटका कारण डराउनुपर्ने अवस्था हुन्छ । त्यही भएर सहकारीमा जानुपर्ने हुन्छ ।
तर सहकारी संस्थाहरू घरघरमै पुग्छन् । सहज तरिकाले ऋण दिने बताउँछन् । धितो पनि राख्नु नपर्ने भन्छन् । मान्छेलाई अभावमा रकम चाहिएको हुन्छ । सहज तरिकाले दिने भएका कारण सहकारीमा नै जान हामी बाध्य हुन्छौं ।
पैसा राख्दा सोच्नै पर्ने रहेछ
सहकारी संस्थाहरूलाई सरकारले राम्रो निगरानी नगरेका कारण यस्ता ठगीका घटनाहरू बढेको मेरो बुझाइ छ । यहाँ सरकारले सहकारीमा नियमन गर्दैन भन्ने परेको छ । सरकारले मतलब नगरेकै कारण यस्तो भएको हो ।
बैंकमा पहुँच नपुग्ने तर व्यवसाय गर्न चाहनेले ऋण लिने ठाउँ कहाँ हो ? ऋण पाइन्छ भनेर सहकारीमा बचत गर्यो भने त्यो आफ्नै सम्पत्ति नै गुम्ने रहेछ । सरकारले विभिन्न सुविधा दिन्छु भनेको छ । स्वरोजगार बन्न चाहनेहरूका लागि निकै राम्रा नीतिहरू बनेको पनि सुनिन्छ । तर कहाँबाट रकम पाइन्छ ? कसरी पाइन्छ भन्ने कुरा सामान्य नागरिकलाई थाहा हुँदैन ।
बजारमा सबै सहकारी संस्थाहरू नराम्रा छन् भन्ने होइन । केही राम्रा पनि होलान् । तर कतिपयले विभिन्न प्रलोभनमा पारेर खाता खोल्ने, बचत उठाउने र भाग्ने गरेको देखिन्छ ।
शुरुमा खाता खोलेर पैसा राख्ने बेलामा नै सोच्नुपर्ने रहेछ । म चाहिं सहकारीमा खाता खोल्दा धेरै नै विचार गर्नुपर्छ भन्नेमा पुगेको छु । कतिसम्म भने सहकारीले कर्मचारी नियुक्त गर्दा ‘यति जना सदस्य बनाइस् भने जागिर पक्का’ भन्ने रहेछन् । अनि कर्मचारीले चाहिने नचाहिने कुरा गरेर पैसा जम्मा गर्ने गर्दा रहेछन् । त्यसैले विश्वास नभई सहकारीमा खाता खोलिहाल्दा समस्या हुने रहेछ ।
सरकारले विना धितो ऋण उपलब्ध गराउने भनेर बजेटमा लेखेर मात्रै हुँदैन । बैंकले सहज तरिकाले ऋण उपलब्ध गराउने हो भने यो समस्या टर्छ । बैंकले सहज तरिकाले सुविधा दिने, सर्वसाधारणसम्म बैंक पुग्ने र सहकारी संस्थाहरूलाई पनि बैंकलाई जस्तै राज्यले नियमन गर्ने हो भने यस्ता समस्या शायद कम हुन्थे कि ?”
