यदि म तिमी भइदिएको भए
मलाई अथाह प्रेम गर्ने थिएँ
अफसोच! म तिमी हुन सकिनँ
तिमीले मलाई प्रेम गर्ने प्रयास गरेनौ
जसरी काँडाहरूले गुलाफ बन्ने प्रयास गरेन
कुवाहरूले महासागर बन्ने प्रयास गरेन
त्यसैगरी तिमीले मलाई प्रेम गर्ने प्रयास गरेनौ
फगत पठाइरह्यौ मौनताको दिव्य संगीतद्वारा
केही यादहरू
यादहरूसँगको सहवासमा गुज्रिँदैछ जीवन
जीवन गुज्रनु, घिस्रनु, चल्नु मात्रै त होइन
जीवन नगुज्रनु, नघिस्रनु, नचल्नु पनि त हुन सक्छ
यो अस्तित्वलाई के भनुँ?
झणभरको सुख
कालान्तरसम्मको दुःख
या यी भावनाहरूभन्दा बेग्लै अर्कै चिज?
गुनासो मात्रै गरेर
गल्तीको साम्राज्य खडा गर्नु
अफवाह फैलाएर कविता लेख्नु
सबै अपराधहरू हुन्
हो, म अपराधी हुँ
प्रागैतिहासिक कालदेखिको खलपात्र हुँ
एउटा खलपात्रले
घाम बरफ भएर नजमुन्जेल
तिमीलाई प्रेम गरिरहनेछ
मृत्यु शाश्वत सत्य हो
त्यसपश्चात
मैले तिमीलाई गर्ने प्रेम
अर्को शाश्वत सत्य हो ।
