नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्।
अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताए।
आफूहरू सधैं पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारबाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए।
उनले भने, ‘पूर्वएमालेको ठाउँमा फर्किऔं। कार्यकर्ता भेलामा भनेको कुरा के हो भने, हामी पार्टी फुटाउने होइन। पार्टी एकतावद्ध बनाएर लैजाने हो। २०७५ साल जेठ ३ गते दुइटा पार्टी एकतावद्ध भए। एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गते सम्म जुनजुन संरचना थिए। जो-जो पदाधिकारी, सदस्य थिए। ती सबैलाई यथावत रूपमा जिम्मा दिनुपर्छ। पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ। तपाईंहरू एमाले पार्टीको हुन्जेल कसैले तपाईंको पद खोस्न सक्तैन।’
नेता नेपालले सांसदहरूको सवालमा के कस्तो हुनसक्छ भनेर आफूहरूले परामर्श गरिरहेकाले नआत्तिइकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए।
केही समयअघि अध्यक्ष ओली समूह अन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।
