काठमाडाैँ । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतले साताैँ संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै वर्तमान नेपालकाे संविधानले पलब्धिले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको बताएका छन् । अाजकाे दिन नेपाली नागरिकद्वारा निर्वाचित संविधानसभाले अधिकतम राजनीतिक सहमति जुटाएर नेपाल र नेपालीको सर्वोत्तम हित हुने संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक दिन रहेकाे भन्दै उनले समस्त नेपालीहरूमा शुभकामना व्यक्त गरे ।
‘जननिर्वाचित प्रतिनिधिहरुको संविधानसभाले संविधान निर्माण गर्ने विषय २००७ सालको जनक्रान्तिको आह्वानमा जननेता वी.पी.कोइरालाले उठान भएको थियो । आफू शासित हुने व्यवस्थाको मूल कानून समेत जनप्रतिनिधिहरुले निर्माण गर्ने पद्धति लोकतान्त्रिक शासनको सर्वोत्तम
अभ्यास हो,’ डा. महतद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘झण्डै साढे सात दशक लामो लोकतान्त्रिक संघर्षपछि नेपाली नागरिकहरुले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ । अब यसै संविधानका माध्यमबाट पर्याप्त भौतिक
पूर्वाधारको निर्माण तथा आर्थिक र सामाजिक क्षेत्रको दुततर विकास गर्दै नेपाली नागरिकहरुको समग्र जीवनको स्तरोन्नति गरी नेपाललाई विश्वका विकसित मुलुकहरुको समकक्षमा पुर्याउन परेको छ ।’
संविधान राज्य सञ्चालनको जीवन्त दस्तावेज रहेकाे बताउँदै उनले विभिन्न विचाराधारा भएका संविधानसभा सदस्यहरुबीच सहमति नजुट्दा यो संविधानमा कतिपय विरोधाभाष निहित रहेकाे बताएका छन् । ‘यी विरोधाभाष र अभ्यासका क्रममा देखिएका कमिकमजोरीहरुलाई संशोधन गरी
संविधानलाई समायानुकूल बनाउनुपर्ने खाँचो छ । संविधानलाई यसको अक्षर र भावना अनुरुप कार्यान्वयन गर्न नेपाली कांग्रेस सबै राजनीतिक दल र राज्यका निकायहरुको जिम्मेवारीपूर्ण सहभागिताको अपेक्षा गर्दछ,’ सन्देशमा भनिएकाे छ ।
