नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई संसदीय दलको बैठकमा स्वागत गरेका छन्।
यसअघि गौतम कुनै पनि गुटगत बैठकमा उपस्थित भएका थिएनन्। उनले पार्टी एक बनाउनलाई अभियान नै चलाउँदै आएका छन्।
अहिले एमालेमा पनि ओली समूह र खनाल-नेपाल पक्ष छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन्। ओलीले विधान विपरीत निर्णय गर्दै आएको भन्दै खनाल-नेपाल पक्षले बैठक अस्वीकार गर्दै आएका छन्
शुक्रबार आयोजित एक कार्यक्रममा भने उनले ओलीले राखेका बैठकमा उपस्थित हुने र उनीविरूद्ध लड्ने बताएका थिए।
त्यसै अनुरूप आज उनी बैठकमा उपस्थित भएका हुन्।
बैठकमा ओलीले पार्टीलाई एक गर्ने अभियानमा लागेका गौतमले जति गरे पनि त्यसको नतिजा भने नआएको भन्दै अब आफ्नो आन्दोलन बलियो बनाउन सुझाए।‘म वामदेव कमरेडलाई स्वागत गर्छु। तपाईंले त्यस्ता अराजक र गुटबाजहरूलाई समेटेर पार्टी एकता गर्न निकै लाग्नु भयो। सायद थाक्नु भयो। अब ढुक्क भएर यो अन्दोलन बलियो बनाउन लाग्नुस्,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने।
