काठमाडौं । जलविद्युत् कम्पनीको सार्वजनिक निष्कासनको लहर बढ्दो छ ।
नेपालको सेयर बजारमा बैंकिङ क्षेत्रको बाहुल्यता रहेको अवस्थामा पछिल्लो केहीसयम यता हाइड्रोपावर कम्पनीको सार्वजनिक निष्कासन गर्ने क्रम बढेर जाँदा वित्तीय क्षेत्रको हिस्सा पनि घट्दै गएको अवस्था छ ।
आर्थिक वर्ष २०७६–०७७ मा ३० वटा हाइड्रोपवार कम्पनी नेप्सेमा सूचीकृत रहेकोमा हाल ४० वटा कम्पनी नेप्सेमा सूचीकृत भइसकेका छन् भने केही आईपीओ जारी गर्ने प्रक्रियामा छन् । यस्तै हाल सार्वजनिक निष्कासनको लागि एक दर्जन हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा रहेका छन् ।
त्यसबाहेक तेह्रथुम पावर र मैलुङ खोला हाइड्रोपावरको आईपीओ निष्कासन गरिसेकेर नेप्सेमा सूचीकरण हुन बाँकी छ ।
यसबाहेक सामलिङ पावर र मध्य भोटेकोशीले बोर्डबाट स्वीकृत पाएर आयोजना प्रभावित स्थानीयका लागि सार्वजनिक निष्कासन गरिसकेका छन् ।
यसबाहेक न्यादी हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर सार्वजनिक निष्कासन खुलाउने तयारीमा रहेको छ ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी सरकारले हाइड्रोपावर कम्पनीलाई प्रवर्द्धन गर्ने नीति लिएको साथै चिलिमे हाइड्रोपवार कम्पनी नेप्सेमा सूचीकृत भएर राम्रो फरफर्मेन्स गर्दा हाइड्रोपावर कम्पनीलाई नेप्सेमा सूचीकरण गर्न प्रोत्साहन भएको बताउँछन् ।
“हाइड्रोपावर अबको उदाउँदा क्षेत्र भन्ने पहिलेदेखि नै थियो र अहिले त्यो देखिँदै छ, यस्तै सरकारको प्राथमिकतामा परेपछि बोर्डको पनि स्वाभाविक प्राथमिकतामा पर्ने भयो, सोहीअनुसार पोलिसी रिभ्यु गर्यौँ,” उनले भने, “पहिले उत्पादन सुरु गरेपछि मात्रै सार्वजनिक निष्कासन गर्न पाइने कानुनी व्यवस्था रहेकोमा पछि त्यसलाई संशोधन गरेर स्थापना भएको एक वर्षपछि सार्वजनिक निष्कासन गर्न सक्ने नीति ल्यायौँ जसले पनि आकर्षण बढाएको हो ।”
कोभिड अगाडिसम्म जलविद्युत् कम्पनीले निष्कासन गरेको हाइड्रोपीओ बिक्री नहुँदा र प्रत्याभुतकर्ताले आईपीओ स्वीकार नगर्दा सूचीकरण महिनौसम्म हुन सकेको थिएन ।
नेप्सेमा सूचीकृत भएको दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्य अंकित मूल्य १०० भन्दा तल रहेको थियो ।
तर, कोभिडपछि ‘बुलिस ट्रेन्ड’मा रहेको सेयर बजारमा अहिले हाइड्रोपावर कम्पनीको सेयर लगानीकर्ताको प्राथमितामा रहेको छ । डेढवर्ष अगाडि ५० रुपैयाँमा नबिक्ने कम्पनीको सेयर अहिले ४०० रुपैयाँभन्दा माथि पुगेको छ ।
नेप्सेमा नयाँ सूचीकृत भएको माउन्टेन इनर्जी, रुरु जलविद्युत कम्पनीको सेयरमूल्य १५०० भन्दा माथि पुग्यो ।
यसरी सार्वजनिक निष्कासन गरेका कम्पनीको संस्थापक सेयर पनि निश्चित समयपछि लकिङ अवधि सकेर साधारण सेयरसरह कारोबार गर्न सकिन्छ ।
त्यसरी लकिङ अवधि सकिएको बेलामा अहिलेको जस्तै बुलिस मार्केट रहने र सेयर मूल्य उच्च रहने अवस्थामा बेच्न सकेमा संस्थापक सेयरधनीले राम्रै लाभ लिन सक्नेछन् ।
जसले गर्दा पनि जलविद्युत कम्पनीमा सार्वजनिक निष्कासनमा आकर्षण देखिन्छ ।
उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान हाइड्रोपावर कम्पनीले सार्वजनिक निष्कासन गर्दा संस्थापकलाई १०० रुपैयाँको सेयर ३–४ सयमा रुपैयाँमा बिक्री गर्न सकिने भएको सार्वजनिक निष्कासन गर्दा नाफा हुने भएकोले आकर्षण बढेको बताउँछन् ।
सार्वजनिक निष्कासन गर्दा दोस्रो बजारमा करोबार हुने र लगानीकर्तालाई पनि फाइदा हुने तथा बेच्न सकिने हुँदा केही कम्प्रमाइज गरेर भए पनि संस्थाले सार्वजनिक निष्कासनमा जोड दिने गरेको उनको दाबी छ ।
“लगानी गर्दा दीर्घकालीन लगानी हो भने, वार्षिक प्रतिफल कति छ ? त्यस्तै भविष्य कस्तो छ ? भनेर हेर्ने गरिन्छ,” प्रधानले भने, “हाइड्रोपावरको कस्ट निश्चित र सञ्चालन खर्च न्युन हुने भएकोले आम्दानी ब्याज तिरेपछि करिब करिब नाफा नै हो, लगानीकर्ताको आश के छ भने सयमा सेयर पाइन्छ र भोलि चार सय पुग्छ भन्ने थाहा छ ।”
अहिले हाइड्रोपवार मात्रै हैन सबै क्षेत्रमा सार्वजनिक निष्कासनको आकर्षण रहेको उनले बताए ।
तर हाइड्रोपावरमा भने १०० रुपैयाँ नभएर बढी लागत भए पनि कम्प्रमाइज गरेर १०० रुपैयाँमा नै निष्कासन भइरहेको उनले बताए ।
“मानौँ हाइड्रोपावर बनाउन ७ वर्ष लाग्छ, ७ वर्ष लगाएर बनाएको हाइड्रोको १०० रुपैयाँको सेयर निमार्ण भइसकेपछि १०० मै त आउँदैन नि, त्यसको २००–२५० लागत पुगिसकेको हुन्छ,” प्रधान भन्छन्,“हाइड्रोपावरलाई बुक बिल्डिङमा जान दिँदैन, बुक बिल्डिङमा जान समय कुनुपर्छ तर हामी तत्कालै सार्वजनिक निष्कासन गर्छौँ ।”
संस्थापकले यति धेरै समय लगाएर बनाएको परियोजना १०० रुपैयाँमा नै निष्कानसन गर्छ भने सबैले किन्ने उनले बताए ।
जसले गर्दा राम्रो परियोजनामा सर्वसाधारण्को पनि आकर्षण बढेको उनी बताउँछन् ।
“संस्थापकको पनि लकिङ अवधि सकिएपछि साधारण सेयरसरह कारोबार हुने हुँदा १०० रुपैयाँ लगानी गरेको ४०० मा बिक्री ग¥यो भने फाइदा हुने भयो,” उनले भने, “त्यसले गर्दा संस्थापकले पनि कम्प्रमाइज गरेर १०० रुपैयाँमा नै सार्वजनिक निष्कासन गर्न तयार भएको र आकर्षण बढेको हो ।”
