काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षभन्दा पनि बढी अटुट सेवा गरेका भारतीय करार शिक्षकले अवकाशपछि पाउनुपर्ने रकम नपाउँदा भौतारिनुपरेको छ।
अवकाशपछि नियमअनुसार पाउनुपर्ने रकम नपाएपछि त्रिविका करार भारतीय प्राध्यापक डा. विनय झा विभिन्न कार्यालयको ढोका चहार्दै भौतारिनुपरेको हो। उनले पाउनुपर्ने उपदानमा २ लाख नपुग र त्रिविले कोसेली भनेर दिँदै आएको ५ लाख रूपैयाँ नपाएपछि उनी निकै निराश बनेका छन्।
यो समस्या हाल उनको भए पनि त्रिविमा कार्यरत ४८ भारतीय शिक्षकले अवकाशपछि यही समस्या भोग्नुपर्ने देखिएको छ। त्रिविमा करारमा कार्यरत भारतीय शिक्षक पञ्चायत कालमै भारतबाट ल्याइएका हुन्।
नेपालका विश्वविद्यालयमा पढाउन योग्य शिक्षक पर्याप्त नहुँदा त्रिभुवन विश्वविद्यालयका तत्कालीन डिनसहितका प्राध्यापक पटना विश्वविद्यालय पुगेर अंग्रेजी, गणित, विज्ञान तथा संस्कृत पढाउने शिक्षक ल्याउने गर्थे। त्यही क्रममा २०३९ सालमा झा अंग्रेजी शिक्षकका रूपमा नेपाल ल्याइएका थिए। २०३९ साउन २४ गतेदेखि ०७५ पुस १७ गतेसम्म उनले अटुट रूपमा त्रिविमा सेवा गरे, त्यसपछि अवकाश पाए ।
