काठमाडौं । विभिन्न क्षेत्रका २० महिलाहरु मिलेर अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आफ्नै देशको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ उनीहरु एविसी आधार शिविर जाने तय गरेका हुन् ।
‘साथसाथै’ नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिक रुपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनकोलागि यो कार्य थालनी गर्न लागेको हो ।
साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेको हुनाले आफ्नै स्वदेशी पर्यटन क्षेत्रलाई बढाउन यात्रा तय गरेको बताइन् ।
उनले भनिन्, ‘अब विदेशी पर्यटन क्षेत्र होइन नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ। साथै आम नेपालीहरुमा पनि आफै स्वदेशमा भएको पर्यटकीय क्षेत्रहरुको अवलोकन गरुन भन्ने मनसाय पनि हो।’
संस्थाले गरेको पहिलो चरणको कार्यक्रममा बोल्दै वरिष्ठ क्याप्टेन विजय लामाले विभिन्न क्षेत्रमा आबद्ध २० महिलाहरु मिलेर एविसी आधार शिविर जान लागेकोमा सफलताको शुभकामना व्यक्त गरे ।
‘यस्तो जोखिमपूर्ण कोविडको समयमा पनि पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले महिलाहरुले हिम्मत गर्नु चानचुने कुरो होइन,’ उनले भने, ‘हामीले उनीहरुको साहसलाई सम्मान गर्नुपर्छ र घरको कामकाजमा पुरुषहरुले महिलाहरुलाई मद्दत गर्नुपर्छ अनि मात्र नेपालको पर्यटन क्षेत्रमा विकास हुँदै जानेछ।’
वरिष्ठ क्याप्टेन लामाले यसरी स्वदेशी पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न महिलाहरु अग्रसर भएकोमा आफूलाई निकै खुशी लागेको बताए ।
उनले थपे, ‘हामी विश्वकै अग्लो चुचुरो सगरमाथा भएको देशको सन्तती हौं त्यसैले आफ्नै देशको पर्यटकीय क्षेत्रलाई संवद्धन संरक्षण गर्दै पर्यटन क्षेत्रलाई व्यवसायीकरण गर्न लाग्नु प्रत्येक नेपालीको कर्तब्य हो।’
संस्थाले अन्नपूर्ण आधार शिविर यात्राकालागि दश दिनको यात्रा तय गरेको छ । उक्त टोली आउने सोमबार ११ गते काठमाडौंबाट शिविरकालागि प्रस्थान गर्नेछ । अन्नपूर्ण यात्राकालागि विभिन्न क्षेत्रमा आबद्ध २० महिलाहरु छन् ।
संस्थाले एविसी आधार शिविरमा गएर पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले सन्देशमूलक कार्यक्रम समेत गरिने अध्यक्ष कार्कीले जानकारी दिएकी छिन् ।
