नेपाल-भारत सीमा नाका कोइलाबासमा शुक्रबारदेखि हेल्पडेस्क स्थापना गरिएको छ।
उक्त हेल्पडेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको अभिलेख राख्ने, स्वास्थ्य चेक गर्ने काम हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
भारतमा कोभिड-१९ को दोस्रो चरण सुरू भएको हुँदा भारतबाट उक्त नाका भएर जिल्ला प्रवेश गर्ने सबैको स्वास्थ्य चेकजाँचपछि अवस्था हेरेर अस्पताल वा आइसोलेसनमा पठाइने पौडेलले जानकारी दिए।
त्यस्तै, उनले जिल्लाका प्रमुख सहर बजारमा चेतना जगाउनका लागि माइकिङ सुरू गरिने बताए।
‘हामी पहिलो चरणमा माइकिङ सुरू गर्छौं, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्छौं,’ प्रजिअ पौडेलले भने, ‘त्यसपछि पनि अटेरी गर्नेलाई सरूवा रोग नियन्त्रण ऐन अन्तर्गत कारबाही थाल्ने छौं।’
जिल्लामा स्थानीय प्रशासनले बिहीबारदेखि नै सभा, सम्मेलनमा रोक लगाइसकेको छ।
जिल्ला जनस्वास्थ्य प्रमुख अंगतबहादुर शाहीले नेपाल-भारत खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमणको महामारी रूप लिँदा दाङमा पनि त्यसको चुनौती बढ्ने हुँदा आवश्यक सावधानी अपनाउन जरूरी रहेको बताए।
प्रमुख शाहीले कोरोना महामारीको कहर कायमै रहेको हुँदा सबैले स्वास्थ्य सावधानी अपनाउन जरूरी रहेको बताए।
