कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सत्य निरूपण तथा मेलमिलाप आयोगमा निरीक्षण एवं अवलोकन गरेका छन् ।
आइतबार ललितपुरको पुल्चोकस्थित सत्य निरूपण तथा मेलमिलाप आयोग पुगेर मन्त्री बडूले संक्रमणकालीन न्यायबारे जानकारी लिएका हुन् ।
आयोगमा पदाधिकारीसँग छलफल समेत गरेका उनले संक्रमणकालीन न्यायको एजेण्डा वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा रहेको स्मरण गराएका थिए ।
संक्रमणकालीन न्याय वर्तमान सरकारको प्राथमिक विषय भएको बताउँदै यसलाई अन्तिम टुंगोमा पुर्याइने उनको भनाइ थियो । त्यसका लागि पूर्ण क्षमताका साथ काम गर्न मन्त्री बडूले आयोगका पदाधिकारीलाई निर्देशन दिए ।
सरकार र दलहरूका तर्फबाट गरिनुपर्ने कानुनी एवं अन्य सहयोग पुर्याउन सरकारबाट तत्परता र प्रतिबद्धता रहेको उनको भनाइ छ ।
