अभिनेत्री रेखा थापाले राज्यको प्राथमिकतामा फिल्म क्षेत्र पर्न नसकेको गुनासो गरेकी छन् । सामाजिक संजालमा एक पोष्ट गर्दै उनले राज्यको ध्यान कला संस्कृतिमा जानु जरुरी रहेको बताएकी हुन् ।
सामाजिक संजालबाट बेलाबेलामा समसामयिक र देशको विकृति र विसंगतीको विषयमा तिखो प्रहार गर्दै आएकी रेखाले अहिले भने फिल्म क्षेत्र राज्यको प्राथामिकता नपरेको गुनासो गरेकी हुन् ।
केही छिमेकी राज्यले आफ्नो देशको कलासंस्कृति उठाउन गरेको पहल उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले नेपालमा भने राज्यले चासो नदिएको बताइन् ।
‘दुनियाँलाई चिनियाँ सभ्यता देखाउन चीन अर्बाैँ खर्च गर्दछ । अरु देश पनि आफ्नो भाषा संस्कृतिको उत्तिकै जगेर्ना गर्दछन् ’ उनले अगाडि लेखेकी छन् ‘सिक्किम सरकारले समेत आफ्नो पहिचान बढाउन त्यहाँ छायाँकन गर्ने फिल्मलाई एक करोड अनुदान दिने घोषणा गरेको छ ।’
नेपालमा फिल्मी संस्कार नभएको समेत गुनासो गरेकी रेखाले फिल्म क्षेत्र ‘आफै बाच–नसके मर’को अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । ‘कला कसैको दयाले जिउने पेशा त होइन, तथापि भोलीको दिनमा हाम्रो भाषा र मौलिक नेपाली पहिचान कस्तो होला भन्ने हो ?’ उनले थपेकी छन् ।
