काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्रमा लगाइएको आरोपप्रति मूल्यांकन गर्न आग्रह गरेका छन् । उनले मंगलबार स्पष्टीकरणको जवाफी प्रश्नसहितको पत्रमा उनले आफूलाई लगाइएको आरोपले ओली नै लञ्जित हुनुपर्ने बताएका हुन् ।
“तपाईँले पठाउनु भएको पत्रमा मेराविरुद्ध लक्षित निन्दात्मक भाषा र अर्थले स्वयम् तपाईँहरुको व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाउँछ । ‘पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको’, ‘पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे-गराएको’,‘अवाञ्छितक्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको- उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरित काम गरे-गराएको’ आदि जस्ता आरोप लगाउनुभन्दा अगाडि तपाईं आफैं लज्जित हुनु पर्ने हो । म त तपाईंलाई आग्रह गर्न चाहन्छु तपाईंले लगाउनु भएको आरोपमा उभिएर तपाई आफैंलाई मुल्यांकन गर्नु होस्,” पत्रमा भनिएको छ।
संसदीय दलको विधान पारित गरिएको भन्ने प्रचारले आफैले संसदीय दललाई समेत विभाजन गर्न खोज्दै हुनुहुन्छ भन्ने तर्कलाई पुष्टी गर्ने पनि बताएका छन् ।
पाण्डेले अदालतले संसद् पुन:स्थापना गरिसकेपछि आफैं राजीनामा पेश गर्दै मुलुकका सामु माफी माग्नु पर्ने होइन र ? भन्ने प्रश्न पनि सोधेका छन् ।
