काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी सिध्याउने काम भइरहेको बताएका छन् । मंगलबार कलंकीको मेघा ब्वेंक्वेटमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको भेलापछि सञ्चारकर्मीसँग नेता रावलले ओली र उनलाई समर्थन गर्नेहरूबाट पार्टी सिध्याउने प्रयास भइरहेको बताएका हुन् ।
उनले आफूहरू पहिलो चरणमा पार्टीको सिद्धान्त, नीति र संगठनको रक्षाका लागि लाग्ने र त्यसपछि पनि पार्टी विभाजन भए संगठनात्मक रूपमा अघि बढ्ने बताए । आफूहरू पार्टीको विधान र ९औं महाधिवेशनले तय गरेको मार्गचित्रअनुसार देशव्यापी रूपमा सशक्त भएर संगठन निर्माण गर्ने उनको भनाइ छ ।
हामी पहिलो चरणमा नेकपा एमालेको सिद्धान्त, नीति र संगठनको रक्षाका लागि पाइला चाल्छौं,” उनले भने, “पार्टी विभाजन गर्ने, त्यहाँ गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने दिशातर्फ अग्रसर हुने काम केपी शर्मा ओलीजी र उहाँलाई समर्थन गर्ने मान्छेहरूबाट भइरहेको हुनाले अब उहाँहरूले भोलि पार्टी विभाजन गर्नुहुन्छ भने हामी त्यतिबेला संगठनात्मक रूपमा पनि अघि बढ्छौं ।”
अब समानन्तर संरचना निर्माण गर्न लाग्नुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रावलले आफूहरूको समानन्तर कमिटी नभएर पार्टीको विधि–विधानअनुसार भएको बताए ।गत फागुन २८ गते बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि एमालको विवाद उत्कर्षमा पुगेको थियो । सोमबार ओलीले नेता नेपाल र रावललाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि पार्टीभित्रको विवाद झन् चुलिएको छ
