काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काए पनि सरकारमा रहेका रामबहादुर थापा बादलसहितका माओवादीका केही नेताहरु एमालेमा प्रवेश गरे ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पनि महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनीहरुमध्ये बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायत २० भन्दा बढीलाई विधान संशोधन गरेर एकैसाथ एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेकाहरुका लागि अब एमालेभित्र राजनीतिक धरातल कति फराकिलो होला भन्नेबारे आम चासो देखिन्छ । पूर्वएमाले नेताहरुमै आपसी किचलो रहेका बेला नवप्रवेशीहरुको राजनीतिक भविष्यमाथि चिन्ता जाग्नु अस्वाभाविक पनि होइन ।
