काठमाडौँ – बैकल्पिक सरकार गठनका लागि कांग्रेसले राखेको प्रस्ताव पछि सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टीको (जसपा)को हाइकमाण्ड बैठक बसेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई तथा वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतो रहेको हाइकमाण्डमा नेता राजेन्द्र श्रेष्ठ पनि आमन्त्रित भएका छन् ।
पार्टी कार्यालय बालकुमारीमा सुरु बैठकले नयाँ सत्ता समिकरणमार्फत अघि बढ्ने वा वर्तमान प्रधानमन्त्री ओलीबाटै आफ्ना माग सम्वोधन गराएर अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने छ ।
शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतालाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोगका लागि आग्रह गरेका थिए ।
त्यसवेला जसपा अध्यक्ष महन्थ ठाकुरले पहिलोपटक कांग्रेसबाट प्रस्ताव आएको भन्दै आफ्नो पार्टीमा निर्णय गरेर जवाफ दिने बताएक थिए । त्यसपछि उनले आफ्नो पार्टीमा छलफलका लागि नेताहरुलाई डाकेका हुन् । जसपाले कांग्रेस सभापतिले राखेको प्रस्ताव औपचारिकताका लागि मात्र भएको भन्दै त्यसबाट परिणाम ननिस्कने बताइरहेको छ ।
“कांग्रेस सभापतिले केन्द्रीय समितिले हाम्रो नेतृत्वमासरकार बनाउने निर्णय गरेको छ, तपाईहरु सहयोग गरिदिनुस् भन्नुभएको छ,” जसपाका एक नेताले भने, “उहाँ नै औपचारिकताका लागि प्रस्ताव राख्दै हुनुहुन्छ भने जसपाले निर्णय गर्ने कुरा नैहुँदैन । छलफल पछि एउटा धारणा बनाउन सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौ ।”
उनले जसपाको बैठकबाट कांग्रेससँग सत्ता साझेदारीबारे निर्णय हुन सक्नेमा आफू आशावादी नरहेको बताए ।
