छिमेकी भारतमा एकैदिनमा १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार भारतमा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो। भारतमा पछिल्ला केही दिनयता निरन्तर एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।
आइतबार थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा ६३ हजार २ सय ९४ जना छन् भने नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार २ सय ७६ जनामा संक्रमण देखिएको छ।
संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। आइतबार भारतभरि नौ सय चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।भारतमा झन्डै १० करोड मानिसलाई कोरोनाको भ्याक्सिन लगाइएको छ। ठूलो संख्यामा भ्याक्सिन लगाए पनि कोरोनाको दोस्रो लहर डढेलोझैं फैलिएपछि विभिन्न राज्यहरूले प्रतिबन्धका कडा मापदण्ड लागु गरेका छन्।
अहिलेसम्म भारतमा एक करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७० हजार संक्रमितको ज्यान गएको छ।
