काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । ओली र ठाकुरबीच बिहीबार दिउँसो कुराकानी भएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
“हामीले उठाएका कुराप्रति प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,” कर्णले बाह्रखरीसँग भने, “अहिले खाली सकारात्मक कुरा मात्रै छ, कुनै निष्कर्ष निस्किएको छैन ।”
जसपाले जेलमा रहेका रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ । यी सबै विषयमा खुला–खुलस्त कुराकानी भए पनि कुनै विषयको निचोडमा पुगिनसकिएको उनले बताए ।
उनका अनुसार आजै कार्यदलको पनि बैठक बस्नेछ । दिउँसोको अनौपचारिक छलफलमा पनि कार्यदलका सदस्यहरू थिए ।
कार्यदलमा सरकारका तर्फबाट दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल राजन भट्टराई छन् । जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र कर्ण रहेका छन् ।
