काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहले छुट्टै राजनीतिक दल गठन गरेको आरोप लगाएका छन् ।
सोमबार नेपालपक्षीय सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोध्दै नेता नेपालले छुट्टै दल गठन गरेकाले किन कारबाही नगर्ने ? भन्दै प्रश्न पनि गरेका छन् ।
“राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र, तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु,” स्पष्टीकरणपत्रमा भनिएको छ ।
ओलीले नेतृत्वविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाएका छन् । ओलीले नेपालपक्षीय नेताहरुलाई सच्चिनका लागि अन्तिम मौका दिएको भन्दै जुनसुकै बेला कारबाही गर्ने चेतावनी पनि दिएका छन्
